गृहमन्त्री खाँणले लिए भैरहवा विमानस्थलको प्रगतिबारे जानकारी

by समतल अनलाइन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर उनले विमानस्थलमा भएको प्रगतिबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री खाँणले विमानस्थलको उद्घाटन गर्न सकिने मिति, सम्पन्न काम र गर्न बाँकी रहेका कामका बारेमा कोइराला र पोखरेलसँग जिज्ञासा राखेको उनको सचिवालयले जनाएको छ । जवाफमा सचिव कोइराला र महानिर्देशक पोखरेलले ‘क्यालिवेशन फ्लाइट’ का लागि भारतलाई आग्रह गरिएको र उनीहरूको टोली आएर काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्था हुने जानकारी गराएका छन् ।

अन्य आवश्यक पर्ने भवन र भौतिक संरचना तयार भएका र ‘फिनिसिङ’ गर्ने काम भइरहेको पनि उनीहरुले गृहमन्त्री खाणलाई जानकारी गराएका छन् । छलफलका क्रममा उनले भैरहवामा अन्तर्राष्ट्रिय उडान शुरु भएपछि आन्तरिक उडान ‘प्रेसर’ पर्छ कि पर्दैन भनेर पनि चासो राखेका थिए ।

जवाफमा महानिर्देशक पोखरेलले कुनै असर नगर्ने जानकारी गराएका थिए । मन्त्री खाँणलाई कोइराला र पोखरेलले विमानस्थल निर्माणका क्रममा भएको प्रगति, देखिएको समस्या र अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या तथा राजनीतिक तहबाट समाधान गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए ।

 

 
 
  
 

You may also like