काेराेनाबाट विदेशमा ४८६ नेपालीको निधन

काठमाडौं । विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ । वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ । हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोभिडका कारण गत शनिबारसम्म विदेशी भूमिमा ४८६ जना नेपालीको मृत्यु भएको छ । २९ देशमा रहेका नेपालीले विदेशमा ज्यान गुमाएका हुन् । संघको स्वास्थ्य समितिकाअनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोभिडबाट प्रभावित भएका छन् ।

संघका अनुसार १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ । यसमध्ये १ लाख १७ हजार ५२९ जना नेपाली कोभिडमुक्त भइसकेका छन् ।

विभिन्न मुलुकमा गरी हालसम्म १० हजार ४०५ जना नेपाली संक्रमित भएका छन् । उनीहरूको विभिन्न स्थानीय अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१.८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।

 

 
 
  
 

You may also like