रामापुर माविको नवनिर्मित ८ कोठे भवनको उद्घाटन

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ कलौनीस्थित रामापुर माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे भवनको उद्घाटन गरिएको छ । विहिवार एक कार्यक्रमकाबिच लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य भुमिश्वर ढकालले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य भूमिश्वर ढकालले प्रदेश सरकारले शैक्षिक गुणस्तर कायम गर्न शिक्षा सँगै भौतिक पूर्वाधारमा जोड दिएको बताउनुभयो । उहाँले विद्यालयहरुमा भौतिक पूर्वाधारको कमी रहेको बताउँदै विद्यालयको हरेक आवश्यकतालाई पूरा गर्ने काम सरकार र जनप्रतिनीधिको रहेको बताउनुभयो ।

नेकपा एमाले प्रदेश प्रमुख सचेतक समेत रहेका ढकालले अहिलेको समयमा विद्यालयको शिक्षामा सुधार ल्याउन प्रविधिमैत्री शिक्षाको खाँचो रहेको औल्याउनुभयो । यसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी सबैको ऐक्यबद्धता हुनुपर्नेमा उहाँको जोड छ ।

सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न योजनाहरु ल्याई कार्यान्वयनमा समेत जोड दिईरहेको बताउनुभयो । उहाँले नगरमा सबै बालबालिकालाई सामुदायिक बिधालयमा अध्ययन गर्ने बाताबरण बनाए मात्र शैक्षिक क्षेत्रमा सुधार हुने धारणा राख्नुभयो । पालिकाले प्राविधिक शिक्षामा जोड दिदैँ शिक्षकहरुका लागि विभिन्न प्रविधियुक्त तालिम समेत प्रदान गरिएको कार्कीले बताउनुभयो । उहाँले सोही अनुसार विद्यालयमा बजेट उपलब्ध गराईरहेको समेत जानकारी दिनुभयो ।

समुदाय, राष्ट्र र अन्तराष्ट्रिय माग अनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षण सिकाई स्तर बृद्धि गरी विद्यार्थीको सर्वाङ्गीण विकास गर्दै समुदायको शैक्षिक, आर्थिक तथा समाजिक उन्नतिमा उल्लेख्य योगदान पु¥याउने विद्यालयको लक्ष्य रहेको विद्यालयका प्राचार्य कृष्ण पौडेलको भनाई छ । उहाँले भौतिक पूर्वाधारको विकास गर्दै समाजको माग अनुसारको माध्यमिक तहमा कार्यक्रमहरु थप्दै जाने योजना रहेको जानकारी गराउनुभयो । विद्यालयको शैक्षिक विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहने पौडेलको धारणा छ ।
प्रदेश सरकार तथा सामाजिक विकास मन्त्रालयबाट नमूना विद्यालय कार्यक्रम अन्तर्गत प्राप्त अनुदानबाट उक्त भवन निर्माण गरिएको हो । जसमा सामाजिक विकास डिभिजन कार्यालयबाट ७५ लाख, सैनामैना नगरपालिकाबाट १८ लाख ७५ हजार, वडा नं. ६ बाट ४ लाख, विद्यालय स्रोतबाट २ लाख ७६ हजार ९ सय ४० गरि कूल १ करोड ५१ हजार ९ सय ४० लागत रहेको छ ।

२०२१ साल फागुन २२ गते स्थापना भएको यस विद्यालय गत वर्ष लुम्बिनी प्रदेशले एक जिल्ला भित्र एक नमूना विद्यालय कार्यक्रम अन्र्तगत रुपन्देही जिल्ला अन्तर्गत नमूना विद्यालयका रुपमा छनोटमा पर्न समेत सफल भएको थियो । हाल विद्यालयमा १ हजार ६ सय ९१ विद्यार्थी अध्ययनरत छन् । । त्यस्तै विद्यालयमा ३६ जना शिक्षक र १० जना कर्मचारी कार्यरत छन् । विद्यालयका ११ वटा कक्षाकोठाहरुमा प्रोजेक्टरको ब्यवस्था रहेको छ जसबाट विद्यालयमा प्रविधिमैत्रि तरिकाबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा सहजता भएको छ । विद्यालयमा १ थान स्मार्ट प्रोजेक्टर र एक कक्षाकोठामा स्मार्ट कक्षा रहेको छ ।

उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका जिवन ज्ञवालीको अध्यक्षता, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की, उपप्रमुख बिना राना,रुपन्देही सामाजिक विकास डिभिजन कार्यालयका दिवाकर भण्डारी, नगर प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नगर शिक्षा विभाग प्रमुख हेमराज अर्याल लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधित्व, समाजसेवी, शिक्षाप्रेमी लगायतको सहभागिता थियो । व्यवस्थापन समितिका सदस्य नारायण प्रसाद खनालको स्वागत तथा शिक्षक काशीराम पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 
 
  
 

You may also like