उपल्लो थलोको उपल्लै व्यथा 

गोरखा। गायक प्रकाश सपुतले नयाँ गीत बनाएका छन्, ‘मेरो पनि हैन र ? यो देश’ । यो गीत जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन्, उनीहरूप्रति समर्पित छ । गोरखाको उत्तरी भेगवासीले यो गीत सुन्न नपाएका पनि हुन सक्छन् । तर, गीतले भनेझैं अनागरिक जस्तो भएर बाँच्नुको पीडा कम दर्दनाक छैन ।

चुमनुब्री गाउँपालिका–७ का नौ टोलका २ सय ४२ घरमा घरैपिच्छे बिरामी छन् । लक्षण कोरोनासँग मिल्दोजुल्दो छ । गाउँको स्वास्थ्य चौकीले उपचार गर्न सकेको छैन । बिरामीलाई धमाधम सदरमुकाम वा काठमाडौं लैजानुपर्ने अवस्था छ । तर, बाटो अवरुद्ध हुँदा घरेलु उपचार गराउँदै घरमै बस्न बाध्य रहेको वडाध्यक्ष पासाङ फुन्जो लामा बताउँछन् ।

‘ज्वरो आउने, खोकी लाग्ने, ज्यान दुख्ने, रिंगटा लाग्ने व्यथाले म पनि सिकिस्त छु । गाउँभरि यस्तै छ’, वडाध्यक्ष लामा भन्छन्, ‘गहुँ काट्न मारामार छ । हेल्थ पोस्टका कर्मचारी पनि मेलापातमा छन् । उपचार गर्न सदरमुकाम जान पाँच–६ दिन पैदल हिँड्नुपर्छ । बूढीगण्डकीले बगाएर बाटो छैन भन्छन् । हेलिकप्टर चार्टर गर्न खर्च छैन । बिजोग छ ।’

वडा नम्बर २ मा खाद्यान्न सकिएको धेरै भयो । विगतमा चीनको तिब्बतबाट ल्याउने गरिएकामा दुई वर्षदेखि नाका ठप्प छ । सदरमुकामबाट लैजान बाढीपहिरोले दुई महिनादेखि बाटो अवरुद्ध छ । ‘गाउँमा समस्या छ । खै कसलाई भनौं ? जनप्रतिनिधि भएर पनि गुनासो गर्‍यो भन्लान्, लाज होला । बेथा कसलाई सुनाऔं ?’, वडाध्यक्ष पेम्बा रेता लामा भन्छन्, ‘राहत कोसित मागौं । राहतले पनि कति दिन टर्छ र ?’

वडा नम्बर ४ का क्वाक, छाक, प्रोकमा पनि खाद्यान्न अभाव छ । गाउँका कसैको घरमा चामल नरहेको वडाध्यक्ष पेमा डुन्डुप लामा बताउँछन् । ‘संकटै लागिसक्यो। सिस्नु र फाँडोले छाक टार्न थालेको धेरै भयो’, वडाध्यक्ष लामा भन्छन्, ‘कालले मर्न नपाइने भयो । अब भोकमरीले मर्नुपर्ने भयो ।’ आफ्नो वडाका सबै पसलमा एक दाना पनि चामल नरहेको उनी सुनाउँछन् ।

एक किलो नुनको २ सय ७५ रुपैयाँसम्म पर्ने गरेको चुमनुब्री–१ का वडा सदस्य मिङ्मार लामा बताउँछन् । ‘बाटोघाटो सबै बन्द छ । सबै सामान हेलिकप्टरले बोकेर ल्याउनुपरेको छ । हेलिकप्टरले प्रतिकिलो २ सय ५० का दरले पैसा लिन्छ’, वडा सदस्य लामा भन्छन्, ‘तलको बजारमा २५ रुपैयाँ प्रतिकिलो पर्ने नुनलाई यहाँ ल्याइपु¥याउँदा २५० रुपैयाँ हेलिकप्टर भाडा जोड्नुप¥यो । अलिकति व्यापारीले नाफा खान्छन् । अनि सस्तोमा पनि एक किलो नुनको २ सय ७५ रुपैयाँ परेन त ?’

वडा नम्बर ६ चुम्चेतका ६० घरमा पनि खाद्यान्न छैन । ‘भूकम्पको बेलाभन्दा अहिले पो बिजोग भयो’, वडाध्यक्ष लोप्साङ लामा भन्छन् ।’ खाद्य संस्थानले गाउँपालिकाभरिका लागि केही समयअघि डेढ सय क्विन्टल चामल हेलिकप्टरबाट ढुवानी गरी फिलिम डिपोमा गोदाम गरेको थियो । तर, बाँड्न नपुग्ने भएकाले लैजान नसकिएको वडाध्यक्ष लामा बताउँछन् ।

बाटो खुलाउन नसक्दा सात वडा र दुई दर्जनभन्दा धेरै गाउँबस्तीको अवस्था नाजुक रहेको चुमनुब्री–३ जगतका बलबहादुर गुरुङ बताउँछन् । ‘हेलिकप्टरले अलिअलि चामल ढुवानी गरेको थियो । तर, त्यसले खान पुग्दैन । प्रचार गर्न मात्र हो’, गुरुङ भन्छन्, ‘२ हजारभन्दा धेरै घरधुरी रहेको गाउँपालिकामा डेढ सय क्विन्टल चामल ढुवानी गरेर के हुन्छ र ? छिटोभन्दा छिटो बाटो खुलाएर खच्चड हिँड्न सक्ने बनाउन नसके गाउँपालिकाभरि भोकमरी हुन्छ ।’

महामारीका बेला छेकम्पारको स्वास्थ्यचौकी पनि स्वास्थ्यकर्मीविहीन छ। चुमनुब्री– ४ नाम्रुङ स्वास्थ्य चौकीमा पनि कर्मचारी छैनन् । दुई जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा दुवै जना नरहेको वडाध्यक्ष पेमा डुण्डुप लामा बताउँछन् । ‘दुर्गमका बासिन्दा हामी सबै कुराबाट वञ्चित छौं । हाम्रो समस्या सिंहदरबारमा राखिदिने पहुँच भएका मान्छे छैनन्’, उनी भन्छन्, ‘बाउबाजेको पालादेखि हामीले एउटै समस्या भोगिरहनुपरेको छ । के सरकारले हाम्रो समस्या सुनिदिनुपर्दैन ? के हामी पनि नेपाली होइन र ?’

वडा नम्बर २ का वडाध्यक्ष पेम्बा रेता लामा भन्छन्, ‘भारतकै पनि हिमाली भेगका बासिन्दालाई विशेष सुविधाको व्यवस्था छ । हामीलाई विशेष सुविधा चाहिएन । कम्तीमा सबै ठाउँका नागरिकले पाउने सरह गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य पाउन पाए हुन्छ । के हामी यो देशको नागरिक होइन र ?’ हातमुख जोर्न कृषिबाहेक आयआर्जनको अर्को स्रोत छैन । सिकर्मी, डकर्मीका कामका साथै जडीबुटी बेचेर नुनतेल किन्नुपर्ने अवस्था छ । नागरिक दैनिकबाट

 
 
  
 

You may also like