काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ४० लाख ४३ हजार ९२६ रुपैयाँबराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन अनेक प्रयास गरिरहेको पाइएको छ ।
कर्मचारीको चरम लापर्बाहीका कारण कम्पनीको थापाथली कार्यालयको गोदाम नम्बर २४ मा ३ सय २३ क्विन्टल बढी र ३० नम्बर गोदाममा १ सय ६४ क्विन्टल बढीको ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको छ । ती कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनीका कर्मचारीले अनेक प्रयास गर्दै आएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार गोदाममा कुहिएको लाखौं रुपैयाँ बराबरको बास्मती चामल नष्ट गर्नुपर्दा चामल कुहाउने कर्मचारीले भर्पाइ गर्नुपर्ने भएकाले कर्मचारीलाई बचाउन कम्पनीले अनेक प्रयास गरिरहेको हो । स्रोतका अनुसार कम्पनी कुहिएको सो बास्मती चामल ‘रि पोलिसिङ’ गरी राम्रो चामलमा मिसाएर काठमाडौंबाहिर पठाउने खेलमा लागेको जनाएको छ । कुहिएको चामललाई खानयोग्य छ भनी दाबी गर्न मनपरी चामलको नमुना लिएर परीक्षण गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यको गोदाममा कुहिएको बास्मती चामल नमुना परीक्षण गरी यसअघि नै नष्ट गर्न निर्देशन दिइसकेको छ । विभागको निर्देशनलाई अटेर गर्दै लापर्बाही गर्ने कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनी अनेक तिगडम गर्न लागेको स्रोतले जानकारी दिएको छ ।
कम्पनीले चामलको पोलिसिङ’ गरी बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा परीक्षण गरेर ल्याएको हो । खाद्य प्रविधि विभागले सो चामल विभागको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालामा १० वटा नमुना परीक्षण खानयोग्य नभएको पुष्टि गरिसकेको थियो ।
अख्तियारले चामल छानबिन क्रममा विभागमा १० पुस २०७६ मा १० वटा नमुना जाँच परीक्षण गरेको थियो । छानबिनका लागि अख्तियारले विभागलाई परीक्षणका लागि दिएको १० वटा नै नमुना जाँच परीक्षण गर्दा सबै नमुना फेल भएका थिए । विभागले २८ माघ २०७६ मै गोदाममा रहेको ४ सय ८७ क्विन्टल २२ किलो चामल नष्ट गरी व्यवस्थापन गर्न निर्देशन दिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बोधार्थ दिई परिपत्र गरिसकेको थियो ।
अहिले करिब दुई वर्षपछि फेरि खाद्य व्यापार कम्पनी कर्मचारीलाई बचाउन नष्ट गर्न भनेको गोदाममा कुहिएको चामलको पोलिसिङ’ गरी बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा नमुना लिई परीक्षण गर्ने काम गरेको हो । कार्यालयको निर्देशनअनुसार सो नमुना बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा परीक्षण गरेर ल्याएको खाद्य कम्पनीका फुड प्राविधिक विशेष कट्टेलले जानकारी दिए ।
प्राविधिक कट्टेलले आफ्नो मनले नभएर कार्यालयको निर्देशनअनुसार चामल नमुना परीक्षण गर्न भनेपछि परीक्षण गरेको बताए । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले अख्तियारको निर्देशनअनुसार कम्पनीको गोदाममा कुहिएको बास्मती चामलको व्यवस्थापन गर्न ‘पोलिसिङ’ गरेको जानकारी दिइन् । उनले चामल ‘पोलिसिङ’ गरेको भए पनि केका लागि प्रयोग गर्ने भन्ने निर्णय भइनकेको बताइन् ।
उनले कम्पनीले चामल व्यवस्थापनका लागि ‘रि पोलिसिङ’ परे पनि कम्पनीले आफ्नो मनपरी एक्लै बजारमा बिक्री वितरणमा गर्ने कुनै उद्देश्य नरहेको दाबी गरिन् । सम्बन्धित निकायको निर्देशनबिना कम्पनीले सो चामल बजारमा बिक्रीका लागि नपठाउने बताइन् । सम्बन्धित निकायको छलफल निर्देशन र निर्णयअनुसार चामलको व्यवस्थापन गर्ने सूचना अधिकारी न्यौपानेको भनाइ छ । राजधानी दैनिकबाट