कार्यदलको आग्रहमा रोकिएको एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (आइतबार) बस्ने भएको छ । हिजो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षीय नेताहरुले बहिष्कार गर्दै आएका छन् । शनिबारै एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा विघटित कार्यदल सदस्यहरुको बैठक बसेको थियो । त्यहाँ भएको छलफलको बारेमा नेम्वाङले स्थायी कमिटी सदस्यहरुलाई ‘ब्रिफिङ’ गरेका थिए ।

सिंहदरबारको छलफलमा विघटित कार्यदलमा रहेका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका थिए । विघटित कार्यदलका सदस्यहरुकै आग्रहमा हिजोको वैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

 

 
 
  
 

You may also like