काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) विहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१ का केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो तथा राति दुवै समय देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको संभावना रहेको हुनाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।