फेरि फैलिँदै कोरोना : १७ जिल्ला अति उच्च जोखिममा, तेस्रो लहरको जोखिम

काठमाडौं । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो । १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ ।

सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ । जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन् । यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन्। जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन् ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए । ‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा. अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै गए व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

एक संक्रमितले एक वा सोभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जाने विज्ञ बताउँछन् । संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण घट्ने हुन्छ । त्यसका लागि भरपर्दो विकल्प खोप लगाउने हो । तर, खोप केन्द्र टाढा हुँदा कतिपय खोपबाट वञ्चित भएका छन् । कतिपय ठाउँमा खोप दुरुपयोग भई लक्षित समूहले लगाउन पाएका छैनन् । ‘सरकारले घर–घरमा गएर खोप लगाइ दिने रणनीति तयार गरेको छैन । कार्यविधि बनेको पनि छैन,’ सह–प्रवक्ता डा. अधिकारीले भने ।

खोप जतिसक्यो चाँडै लगाउनुपर्ने विज्ञको सुझाव छ । डा. अधिकारीका अनुसार हालसम्म मुलुकभर ८८ लाख ८२ हजार ८ सय ५० डोज प्राप्त भएको छ । त्यसमध्ये ५० लाख ४७ हजार ३ सय ५५ डोज प्रयोग भइसकेको छ । ३५ लाख ४४ हजार ४३ जना व्यक्तिले एक डोज खोप लगाइसकेका छन् । १५ लाख ३ हजार ३ सय १२ जनाले पूर्णडोज लगाइसकेको डा. अधिकारीले बताए ।

उनका अनुसार सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान अघि बढाइरहेको छ । दोस्रो डोज लगाउनुपर्ने व्यक्तिलाई पनि चाँडै लगाउने गरी काम अघि बढाइएको छ । खोप लगाउन बाँकी १८ वर्ष माथिका जति पनि जनसंख्या छ, खोप लगाउने काम अहोरात्र भइरहेको उनले बताए ।

मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ । होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन् । संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन् । अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष (आईसीयू) मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ८ सय ८ परीक्षण गर्दा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ९३ छ । संक्रमितमध्ये ३३ जनाको निधन भएको छ ।

गण्डकी प्रदेशमा परीक्षण गरेका हरेक तीनमध्ये दुई जनामा संक्रमण पुष्टि हुने गरेको छ। ६२ प्रतिशत व्यक्ति संक्रमण पुष्टि भइरहेको डा. अधिकारीले बताए। त्यस्तै प्रदेश १ मा २७ .५ प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको छ । बागमती प्रदेशको काठमाडौं उपत्यकामा संक्रमण दिनानुदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पनि एकै दिन ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५ सय ५९, ललितपुरमा २ सय ६ र भक्तपुरमा ९४ छन् । तेस्रो लहरको सम्भावना रोक्न समय भएको उल्लेख गर्दै डा. अधिकारीले सचेतपूर्ण व्यवहार र आवश्यक तयारी गर्नुपर्ने बताए ।

सम्भाव्य तेस्रो लहरको जोखिम
मुलुकमा विभिन्न समयमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट बढी देखिएको छ । कोरोना संक्रमणको दोस्रो लहरको सुरुवाति चरणमा अल्फा भेरियन्टले बढी प्रभाव पारेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार अल्फालाई डेल्टा भेरियन्टले विस्थापित गरेको छ । ‘परीक्षणका लागि छानिएका शतप्रतिशत नमुनामा डेल्टा भेरियन्ट नै देखिएको छ । त्यस्तै डेल्टा म्युटेसन भएको पनि छ । जसलाई बोलिचालीको भाषामा डेल्टा प्लस भन्ने गरिएको छ,’ उनले भनिन् ।

अहिलेसम्मका भाइरसमध्ये डेल्टा भेरियन्ट छिटो फैलने र बढी संक्रामक पाइएको छ । ‘पहिलो लहरभन्दा दोस्रोमा बढी प्रभावित हुनुमा डेल्टा भेरियन्ट नै कारक हो,’ डा. झाले भनिन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित ४७ वटा नमुनाको परीक्षण गर्दा डेल्टा भेरियन्ट पुष्टि भएको छ । यी नमुना असार ३० गते भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको मान्यताप्राप्त द इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायलोजी (आईजी आईबी) मा सिक्वेन्सिङका लागि पठाइएको थियो । ती नमुनाको जिनोमिक पहिचान गर्दा सबैमा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये ३ वटामा थप उत्परिवर्तन भेटिएको छ ।

यीसहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रूपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेष्टका रूपमा कप्पा पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले यी भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने विभिन्न अध्ययनबाट पाइएको बताए ।

डा. झाका अनुसार जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भाइरसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिइन्छ । अहिले अल्फा, बिटा, गामा र डेल्टा गरी चारवटा मात्र भेरियन्ट अफ कन्सर्नको सूचिमा छन्। अन्य भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेष्टमा सूचीकृत गरिएको छ ।

जनस्वास्थ्य प्र्रयोगशालाबाट १ सय ४९ वटा नमुनाको जीन सिक्वेसिङ गराइसकिएको छ । तीन महिनादेखि सिक्वेन्सिङ गराइरहेको डा. झाले जानकारी दिइन । ‘यो खर्चिलो पनि छ । एउटा जीन सिक्वेन्सिङ गर्न ६० हजारसम्म रुपैयाँ पर्न सक्छ । छिट्टै नै सरकारी प्रयोगशालाबाट नै जीन सिक्वेसिङ गर्न द्रुत ढंगले काम अघि बढाइएको छ,’ उनले भनिन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोना भाइरसले स्वरूप परिवर्तनपछि प्रदर्शन गर्ने आक्रामक व्यवहारका कारण तेस्रो लहरको संभावनालाई नकार्न नसकिने बताए ।

‘यदि डेल्टा र डेल्टा प्लस भाइरसले निरन्तर पाएको छ भने संक्रमण हुन बाँकी र खोप नलगाएका व्यक्ति संक्रमणको जोखिममा छन्’, डा. पुनले भने, ‘यो अवधिमा नयाँ (नौलो) खालको भेरियन्ट उत्पत्ति भयो वा आयो भने त्यसले पनि अर्को लहर देखिन सक्ने संभावना हुन्छ ।’

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार बाहिरको परिदृश्य हेर्ने हो भने कोरोना भाइरसको महामारी सकिएको जसरी भीडभाड गर्ने र मास्क लगाउने कुरालाई बिर्सने प्रवृत्ति देखिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like