गणेशस्थान खानेपानी संस्थाले आफ्ना १३७ सदस्यलाई डस्विन वितरण

बुटवल । गणेशस्थान खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना सदस्यहरुलाई डस्विन वितरण गरेको छ । बुटवल–३ बमघाट टोलमा अवस्थित खानेपानी संस्थाले सरसफाई अभियान अन्तरगत सदस्यहरुलाई डस्विन वितरण गरेको हो ।

डस्विन वितरणको अवसरमा बोल्दै बुटवल उपमहानगरकी उपमेयर गुमादेवी आचार्यले आफ्नो टोल तथा शहरलाई सफा राख्नका लागि स्वयम् नागरिकहरु नै सचेत हुनु पर्ने आवश्यकता औल्याइन् । उमहानगरले स्वस्थ खानेपानीको सुविधा विस्तार तथा स्वच्छ शहरका लागि आवश्यक पूर्वाधारहरुको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । बुटवल बासीलाई स्वच्छ खानेपानी सुविधाका लागि महत्वकांक्षी योजनाका रुप झुम्साखोला खानेपानी आयोजनालाई अगाडि बढाइएको र काम भइरहेको जानकारी गराइन् ।
स्वच्छ खानेपानीसँगै स्वच्छ वातावरण मानवीय जीवनका लागि आधारमूत र पहिलो आवश्यकता भएको उल्लेख गर्दै आचार्यले सबै नागरिकहरुले आफ्नो घरबाट निस्कने फोहरहरुलाई सकेसम्म कम र व्यवस्थित गर्न आग्रह गरिन् । बुटवल उपमहानगरको फोहर व्यवस्थापनका लागि पूर्वाधार निर्माण गरी व्यवस्थित गर्नका लागि योजना अघि सारिरहेको उल्लेख गरिन् ।

विगत २७ वर्षदेखि सेवा प्रदान गर्दै आएको गणेशस्थान खानेपानी संस्थामा १३७ जना सदस्यहरु रहेका छन् । संस्थाले सञ्चालन गरेको खानेपानी आयोजनाबाट सदस्यहरुसहित करिब २ सय घर परिवारले सेवा लिइरहेको संस्थाका अध्यक्ष हरिप्रासाद भट्टराईले जानकारी गराए । उपभोक्ताहरुबाट खानेपानी शुल्कबापत उठाएको बचतबाट नै उपभोक्ताहरुलाई डस्विन किनेर निःशुल्क रुपमा वितरण गरिएको उनले बताए ।
१३७ वटा नीजि तथा विभिन्न ठाउँमा सार्वजनिक धारा जडान गरी खानेपानी सुविधा प्रदान गर्दै आइरहेको संस्थाले आफ्ना वार्षिक क्रार्यक्रम अन्तरगत विभिन्न खालका सरसफाई सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको सचिव लक्ष्मण सलामीले जानकारी दिए । विभिन्न समयमा टोल सफाई तथा सरसफाई सामग्री वितरण गर्दै आएको उनले बताए । टोललाई सफा र वातावरण मैत्री शहरको रुपमा विकास गर्नका लागि हरेक नागरिकहरुमा सचेतना आवश्यक रहेको उनले बताए ।
सदस्यहरुलाई डस्विन वितरण गर्दै संस्थाकी कोषाध्यक्ष ज्ञानकुमारी बस्यालले फोहर व्यवस्थापनमा थप सहज हुने विश्वास व्यक्त गरिन् । घरबाट निस्कने फोहरलाई सकेसम्म कम गर्ने तथा निस्किएका जथाभावि नफालेर एक ठाउँमा व्यवस्थित गर्न सदस्यहरुलाई आग्रह गरिन् ।

 
 
  
 

You may also like