भीम रावलको प्रतिरक्षामा उत्रिए शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका नेता शंकर पोखरेलले सांसद पदको राजीनामा फिर्ता लिएका पार्टीका उपाध्यक्ष भीम रावलको प्रतिरक्षा गरेका छन् ।

वरिष्ठ नेता माधव नेपाल पक्षका मानिने रावलले पार्टी एकताका लागि भन्दै यही साउन ३ गते प्रतिनिधि सभा सदस्य पदबाट दिएको राजीनामा हिजो शुक्रबार फिर्ता लिएका हुन् । राजीनामा दिएर पनि फेरि फिर्ता लिएको भन्दै कतिपयले उनको आलोचना गरिरहेका छन् ।

यसै सन्दर्भमा ओली पक्षीय नेता पोखरेलले रावलको प्रतिरक्षामा उत्रिएका हुन् । ‘राजीनामा होल्ड गरेर राख्दा नबोल्नेहरू राजीनामा फिर्तापछि विरोधमा खनिएका छन्,’ लुम्बिनी प्रदेशशका मुख्यमन्त्री समेत रहेका पोखरेलले भनेका छन्, ‘रावलजी पार्टी विभाजनको विपक्षमा उभिदाको रोइलो त होला !’

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधवकुमार नेपालसँग विमति भएपछि रावलले प्रतिनिधि सभा बैठक (साउन ३ गते) सुरु हुनुअघि सांसद पदबाट राजीनामा सभामुख अग्नि सापकोटासमक्ष बुझाएका भए पनि स्वीकृत हुन बाँकी थियो । तर पार्टीका नेता, कार्यकर्ता, मतदातालगायत सबै पक्षले व्यापक आग्रहका कारण आफूले फिर्ता लिएको रावलले बताएका छन् ।

 

 
 
  
 

You may also like