काठमाडौँ । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् । देउवा सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतप्रति आक्रोश पोखेका हुन् ।
बैठकमा ओलीले कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने, आफंै मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको आरोप लगाए । उनले आफ्नो नेतृत्वको सरकार बहिर्गमनपश्चात बनेको गठबन्धनको देउवा सरकारलाई ‘टालाटुली’को संज्ञा दिए । ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन् । देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको हो,’ ओलीले भने ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई ‘विषवृक्ष’ को संज्ञा दिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले भने, ‘पार्टीमा उहाँ (माधव)लाई सम्मान भएन रे । विषवृक्षलाई अझै सम्मान ?’
माओवादी केन्द्रका दाहालप्रति प्रहार गर्दै ओलीले भने, ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । हुन त प्रतिपक्ष कसरी अगाडि बढ्छ भन्ने कुरा हो । विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्छ ।’
बैठकमा अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष भीम रावलको भने प्रशंसा गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।