तीन दिन भारी वर्षाको सम्भावना, आज चार प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौं। नेपालमा मनसुन सक्रिय भएको हुँदा देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुन सक्रिय रहेका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

वागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन् ।

काठमाडौं उपत्यकामा पनि आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने जनाएको विभागले यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन आग्रह गरेको छ ।

बिहीबारसम्म मनसुन सक्रिय रहने र त्यसपछि केही दिन तुलनात्मक रुपमा केही कमजोर हुने मौसमविद् मानन्धर बताउँछिन् । ‘अबको तीन दिन मनसुन सक्रिय रहन्छ । त्यसपछिको केही दिन भने मनसुन कमजोर हुँदा वर्षा पनि कम हुने देखिन्छ’, उनले भनिन्, ‘न्यून चापीय रेखा तराईको भू–भाग नजिक रहेकाले प्रदेश–१, प्रदेश–२, लुम्बिनी, गण्डकी र वागमती प्रदेशमा पनि यो तीन दिन मध्यम र भारी वर्षा हुनेछ । त्यसैले सतर्क हुनु पर्नेछ ।’

 
 
  
 

You may also like