ओली–नेपाल द्वन्द्व : दुवैका आ–आफ्नै दाउ

काठमाडौं। एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ । एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

केन्द्रीय कमिटीको अजेन्डा तय गर्न आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो । स्थायी कमिटीको शुक्रबार बसेको बैठकले विवाद निरूपणसम्बन्धी कार्यदलले प्रस्ताव गरेका सहमतिका बुँदालाई अनुमोदन गर्नुका साथै कार्यदल खारेज गरेको छ ।

सो बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ। ओली पक्षले फेरि आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटीको बैठक राखेर नेपाल पक्षलाई अप्ठेरोमा पार्न खोजेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले सबै बैठक रोकेर ओली र नेपालबीच संवाद गराउन चाहिरहेका छन्। तर ओली र नेपाल दुवै संवाद नगरी अघि बढ्ने मुडमा देखिएका छन् ।

‘हामीले दुवै नेताहरूबीच संवाद गरेपछि मात्र पार्टीको बैठक राख्न अनुरोध गरेका थियौं तर अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक बोलाउनु भयो । फेरि आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ। संसदीय दल र स्थायी कमिटीको बैठकबाट देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गराउनु भयो । यी गतिविधि हेर्दा अध्यक्ष ओलीले नेता नेपालको साथ नचाहेको देखियो’, कार्यदलमा रहेका एक सदस्यले भने ।

नेता नेपालले कार्यदलका सदस्यहरूले १० बुँदे सहमतिमा हस्ताक्षर गरेपछि पाँच दलीय गठबन्धनमा नरहने घोषणा गरेकै बेला ओलीले एमालेमा नेपालको कुनै पनि स्थान नभएको अभिव्यक्ति दिए । त्यसले सप्रिन लागेको वातावरण बिग्रियो। त्यसपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य विजय पौडेललाई गठबन्धनको बैठकमा पठाएर गठबन्धनमा कायमै रहेको सन्देश दिएका छन् ।

‘ओलीले निरन्तर बैठक राखेर नेपाललाई पेलेर अघि बढ्न चाहेका छन् । नेपालले पनि ओलीलाई देखाउन पाँच दलीय गठबन्धनमा रहेको सन्देश दिएका छन्’, कार्यदलमा रहेका ती सदस्यले भने । ती सदस्यका अनुसार दुवै नेताहरूले आफूहरू आ–आफ्नो अडानबाट टसमस नभएको सन्देश दिइरहेका छन् । तर पनि कार्यदलमा रहेका १० सदस्यसहित पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराईले सहमति कायम गराउन शनिबार लामो छलफल गरे। उनीहरूले ओली र नेपाललाई अलग अलग भेटी पार्टी एकता कायम राख्न आग्रह गर्ने भएका छन् । त्यसैअनुसार कार्यदल सदस्यहरूले शनिबार साँझ ओलीलाई भेटिसकेका छन् भने आइतबार बिहान नेपाललाई भेट्दै छन् ।

‘१० बुँदे सहमति कार्यान्वयन गर्दा एमालेको एकता जोगिन्छ भन्नेबारेमा हामीले छलफल गरेका छौं’, ओली पक्षका नेता नेम्वाङले भने । उनले सर्वोच्च अदालतको फैसलामा असहमति हुँदाहुँदै पनि मानेर जाने विषयमा विमति नरहेको बताए ।

नेपाल पक्षका नेता गोकर्ण बिष्टले भने पार्टीलाई एक बनाउन १० बुँदे सहमति कार्यान्वयनको विकल्प नभएको बताए । कार्यदलमा रहेका दुवै पक्षका नेताहरूले शनिबार सिंहदरबारमा छलफल गरिरहेका बेला कोटेश्वरस्थित नेपाल निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेका थिए । दाहालले वर्तमान सरकारलाई जोगाएर अघि बढ्नुपर्ने विषयमा नेपालसँग कुरा गरेका थिए ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउँदा सांसदलाई पार्टीका ह्विप नलाग्ने भनेको छ । यसै आदेशमा टेकेर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनुपर्ने विषयमा नेपाल–दाहालबीच कुराकानी भएको स्रोतले बतायो। नेता नेपालले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने आश्वासन दिएको स्रोतको दाबी छ ।

‘प्रतिनिधिसभा पुनस्र्थापना र ओलीको विकल्पमा सरकार बनाउन नेता नेपालको भूमिका रहेकाले देउवा सरकारलाई विश्वासको मत दिनु नैतिक दायित्व हो। त्यसकारण पनि देउवाले विश्वासको मत पाउँछन्’, नेपाल निकट एक सांसदले भने । नेपाल पक्षका सांसद विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायतले सरकारलाई विश्वासको मत दिने बताउँदै आएका छन् ।

नेपाल पक्षका केही नेता पाँच दलीय गठबन्धन र दाहालसँगको भेटघाटबाट उनलाई टाढा राख्नुपर्ने बताउँछन् । नेपाल पाँच दलीय गठबन्धन र दाहालसँग निकट बन्दै गएपछि ओलीले एकलौटी रूपमा बैठकहरू डाकेर पेल्न थालेको बुझाइ नेपाल पक्षका नेताहरूको छ । ‘जब हामीले पार्टी मिलाउने कुरा गर्न सुरु गर्छौं तब दाहाल नेपाललाई भेट्न कोटेश्वर पुग्छन् । यसको पछाडि केही न केही कारण हुन सक्छ’, एमाले कार्यदलमा रहेका नेपाल निकट एक सदस्यले भने ।

ती सदस्यका अनुसार दोस्रो पुस्ताका नेताहरू पार्टी मिलाउने पहलमा जुटिरहेका बेला कुनै न कुनै बहाना बनाएर दाहालले नेपाललाई भेट्ने गरेका छन् । ‘यसले पार्टी एकताको वातावरण बिग्रेको अवस्था छ’, विगत कोट्याउँदै कार्यदलमा रहेका ती सदस्यले भने । ती सदस्यका अनुसार ओली र नेपाल सहमतिभन्दा एकले अर्कोलाई गलाएर झुकाउने रणनीतिमा लागेका छन् । तर दुवै नेता नझुक्दा विवाद निरूपणभन्दा झन् जटिल बन्दै गएको दाबी ती सदस्यको छ । नागरिक दैनिकबाट

 
 
  
 

You may also like