बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभा अधिवेशन मध्यरातमा अन्त्य

बुटवल । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बजेट पारित हुन नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेशसभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।

धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालय प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्ता पक्षका सांसदहरू सदन छाडेर प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।

बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद बैठक छाडेर हिंडेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोकेका थिए । साढे ५ बजे पनि बैठक बस्न नसकेपछि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको थियो । तर, सरकारले मध्यरात संसद अधिवेशन नै अन्त्य गरेको छ ।

बजेट पारित नभएकाले शुक्रबारदेखि लुम्बिनी प्रदेशमा राज्यकोषबाट कुनै पनि रकम खर्च गर्न मिल्दैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन् । उनीविरुद्ध विपक्षी गठबन्धनले पटक–पटक अविश्वास प्रस्ताव दर्ता गराए पनि उनले छल्दै आएका छन् ।

८३ सदस्यीय प्रदेश लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद चाहिन्छ । तर, एमालेका ३८ र जसपाका तीन जना गरी सत्तापक्षमा ४१ जना सांसद छन् । विपक्षमा पनि कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ जना नै सांसद छन् । दुवै पक्षको मत समान भएमा सभामुखको भोट निर्णायक मानिन्छ । लुम्बिनीका सभामुख घर्ती माओवादी केन्द्र तर्फका हुन् ।

 

 
 
  
 

You may also like