ओली सरकारले घोषणा गरेको मध्यावधि चुनाव स्थगित

काठमाडौं। निर्वाचन आयोगले केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले निर्वाचनका सबै कार्यक्रम रद्द गरेको जनाएको हो ।

केपी ओली नेतृत्वको तत्कालिन सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा गरेको थियो । त्यसलगत्तै आयोगले निर्वाचनका लागि आवश्यक प्रक्रियासमेत शुरु गरिसकेको थियो ।
तर, सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णय अवैध ठहर गर्दै संसद पुनर्स्थापना गरिदिएपछि आयोगले निर्वाचनका सबै कार्यक्रम रद्द गरेको हो ।

आयोगद्वारा बुधबार जारी सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतबाट मिति २०७८/३/२८ मा भएको आदेश बमोजिम मिति २०७८/७/२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८/८/३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८/३/२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ ।’

 
 
  
 

You may also like