बाढी–पहिरो र डुबानबाट २५ दिनमा ४४ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । नेपालमा पछिल्लो २५ दिनमा देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी ४४ जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा २४ पुरुष, १३ महिला, चार बालक र तीन बालिका रहेका छन् ।

तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा र गोरखामा तीन-तीन, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा दुई÷दुई, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट, पाँचथर, बझाङ र बाजुरामा एक-एक जना रहेका छन् । पछिल्लो २४ घण्टामा म्याग्दी मंगला गाउँपालिका–५, छिस्बाङस्थित थमबहादुर बुढाथोकीको घर बाढीले भत्किँदा सोही घरमा पसल गरी बस्ने मालिका गाउँपालिका–६, दुखु घर भएका २३ वर्षीय गजिन रोका र उनकै श्रीमती १९ वर्षीया बिना रोकाको मृत्यु भएको छ ।

बाढी–पहिरो र डुबानमा परी उक्त अवधिमा ६० जना घाइते भएका छन् । तीमध्ये ३२ पुरुष, १४ महिला, १० बालक र चार बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १०, धादिङमा ६, सिन्धुपाल्चोक र रोल्पामा पाँच-पाँच, धनुषा र सर्लाहीमा चार-चार, खोटाङ, कास्की, म्याग्दी र डोटीमा तीन-तीन, जुम्ला, चितवन र गोरखामा दुई-दुई, पाँचथर, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, दार्चुला, बाजुरा र सल्यानमा एक-एक जना रहेका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढी–पहिरोमा परी २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ पुरुष, ६ महिला, तीन बालक र एक बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २०, चितवनमा तीन, पर्वतमा दुई तथा बाजुरा र बागलुङमा एक जना छन् । बेपत्ताको खोजीकार्य जारी छ ।

बाढी–पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६५६ जना, चितवनमा ४०२, सिन्धुपाल्चोकमा १२३, दोलखामा ३५, लमजुङ र सल्यानबाट आठ-आठ, जाजरकोटमा सात, गोरखा र दाङमा चार-चार र कञ्चनपुरमा तीनजना रहेका छन् । उद्धारपश्चात् उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

बाढी–पहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सञ्चालन गराइएको छ । साथै, वर्षाको कारण रसुवा, मुस्ताङ, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ, कास्कीलगायत स्थानहरुमा बुधबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाई सञ्चालन गराउने कार्य जारी छ ।

बाढीको कारण एक हजार ४२८ वटा घर डुबानमा परेका छन् । ५४५ वटा घर, ९७ गोठ, ३९ वटा पुल, तीन विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८३६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा ४९६ वटा विपतका घटनाबाट एक हजार १५४ वटा घर परिवारका पाँच हजार ३८५ जना मानिस विस्थापित भएका प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like