बुटवल । कोरोना महामारीका कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई टोण्टा फाउण्डेशनले निरन्तर राहत प्रदान गर्दै आएको छ । फाउण्डेशनले ‘नागरिक बचाउ अभियान’ अन्तर्गत रुपन्देहीका विभिन्न स्थानका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गर्दै आएको छ ।
रुपन्देहीको तिलोत्तमा स्थित फाउण्डेशनले अभियान अन्तर्गत मंगलबार राहत हस्तान्तरण कार्यक्रम गरी बुटवल–११ सिरान गाउँ , मजुवा–२ का २८ घर–परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । फाउण्डेशनले सो क्षेत्रमा रहेका गरिब तथा अति विपन्न परिवारलाई प्रतिपरिवार २५ किलो चामल,दाल,नून,आलु,तेल,प्याज,सोएबिन लगाएतका खाद्य सामग्री हस्तान्तरण गरेको फाउण्डेशनका म्यानेजर केशव बेल्बासेले बताए ।
बिरामी भएर उपचार नपाएका र गरिबी तथा अभावले जिविकोपार्जन गर्न नसक्नेहरुका लागि सहयोग गर्ने उद्देश्यले नागरिक बचाउ अभियान सञ्चालन गरेको फाउण्डेशनका अध्यक्ष सुरेश विश्वकर्माले बताए । पछिल्ला वर्षहरुमा कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेका विपन्न वर्गलाई राहत सामग्री वितरण गर्दै आएको र यस अभियानलाई निरन्तरता दिने उनले बताए।
फाउण्डेशनले अभियान अन्तर्गत रुपन्देहीको मर्चवार,देवदह,बुटवल लगाएतका क्षेत्रका विपन्न वर्गलाई खाद्य लगाएतका सामग्रीहरु वितरण गर्दै आएको फाउण्डेशनका म्यानेजर केशव बेल्बासेले बताए । उनले हालै मृगौला पीडित एक जना र ब्लड क्यान्सर पीडित एक बालकलाई उपचारका लागि सहयोग गर्दै अभियान चालाएको बताए । त्यस्तै महामारीका बेरोजगार भएका वा समस्यामा परेका केहिलाई पनि रोजगार दिने अभियान रहेको उनले बताए ।
फाउण्डेशनले स्थानीय टोल विकास समितिको सहजीकरण र सहकार्यमा सहयोग आवश्यक परिवारको पहिचान गरी सहयोग वितरण गरेको हो । राहत वितरण कार्यक्रममा टोल विकास समितिका अध्यक्ष केशर बहादुर घर्ती,मैनाबगर अस्थायी प्रहरी बिटका हवल्दार स्वस्तिक गौडेल, फाउण्डेशनका पदाधिकारी तथा सल्लाहकार लगाएतको सहभागिता रहेको थियो ।