काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,५५२ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म ६ लाख ९,२१८ जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८,१३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,६०३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४,८७६ जना पिअिसार परीक्षण गर्दा एक हजार ४२ र ३,२५६ जनाको एन्टीजेन परीक्षण गर्दा ५६१ जनामा गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् ।
काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ । पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९,२२५ जना संक्रमितको मृत्यु भइसकेको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।