भारतमा अब गर्भवतीलाई पनि कोरोनाविरुद्धको खोप

नयाँदिल्ली। भारतमा गर्भवतीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई समेत कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएसँगै अब उनीहरुले पनि खोप लगाउन पाउने भएका हुन् । गर्भवतीलाई पनि खोप दिनुपर्ने राष्ट्रिय प्राविधिक सल्लाहकार समूहको सिफारिसलाई भारतको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको बीबीसीले जनाएको छ ।

अब खोप लगाउन चाहने गर्भवतीले कोरोना एपमा गएर आफ्नो नाम दर्ता गराउन अर्थात नजिकैको कोभिड केन्द्रमा गएर खोप लगाउन सक्नेछन् । उनीहरुलाई कोरोनाविरुद्धको खोप सम्बन्धित राज्य र केन्द्र प्रशासित प्रदेशहरुमा वितरण गरिनेछ । यसअघि कोरोना सङ्क्रमणले गर्भवतीको स्वास्थ्यमा निक्कै असर गरिरहेको अध्ययनहरुले निष्कर्ष निकालेको थियो ।

उनीहरुमा थुप्रै गम्भीर रोगहरुको जोखिम बढाउनुका साथै भ्रुणलाई पनि असर गर्ने सम्भावना रहेको अध्ययनले देखाएको थियो । अब नयाँ नियम अनुसार गर्भवतीले गर्भावस्थाको कुनै पनि समयमा खोप लिन सक्ने भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like