धादिङमा पहिरोले पाँच वटा गाडी पुरिए, दुईको मृत्यु, ६ जना घाइते

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरै पहिरो, यात्रुको विजोग
धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा पहिरोले पाँच वटा गाडी पुरिएका छन् । पाँच वटा गाडी पुरिंदा दुई जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय बीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनीदेवीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर रन्जन अवाले जानकारी दिएका छन् ।

पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।
निरन्तरको पहिरोले यात्रुको विजोग
निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि बन्द छ । बिहीबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।

शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक खुलाइएको २ घण्टा निबित्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले बताए । त्यसपछि पुनः चारकिलो र पाँचकिलोमा पहिरो खसेको हो । नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षमा पहिलो पटक पहिरो खसेको हो । उनले भने, ‘मैले यो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।’

सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ । पहिरो रोकिएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भए पनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ । चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा ब्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय (चितवन) का प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सडक बिहीबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र खुलाउन सकिएको बताउँछन् । मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनले बताए । सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा विवाहलगायत अत्यावश्यक काममा निस्किएका मानिस समस्यामा परेका छन् । ठूलो संख्यामा सवारीसाधनमा आएका यात्रु सडकमै बिचल्लीमा परेको उनले जानकारी दिए । शुक्रबार बेहुली लिन हिंडेका बेहुलाहरूको बिचल्ली भएको सामुहिक तस्बिर सार्वजनिक भएका थिए । यसैगरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक बन्द भएको छ । लेदो खसिरहेकाले सडक दुईतर्फी नै अवरुद्ध भएको थापाले जानकारी दिए ।

 
 
  
 

You may also like