बाबा ग्याँस उद्योगमा कयरखोला पस्यो, सिलिण्डर बगाएर सौराहासम्म पुर्‍यायो

चितवन। चितवनको खैरहनी नगरपालिका–१ वेल्सीमा रहेको बाबा ग्याँस उद्योगमा खोला पसेर क्षति पुर्‍याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्‍याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धेरै सिलिन्डर बगाएका छन् । उनले भने, ‘यहाँका सिलिन्डर बगाएर सौराहासम्म पुगेका छन् ।’ बाढीले उद्योगको संरचनामा नोक्सान पुर्‍याएको छ ।

उद्योगमा १० देखि १५ हजार सिलिन्डर रहन्छ । के कति सिलिन्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरेनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए । स्थानीय खोलाहरू बढेर पुलहरू उच्च जोखिममा रहेको उनले बताए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुबानमा परेको छ । कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोला समेत बढ्दै गएको भन्दै उनले सौराहा पनि डुबानको खतरामा रहेको जानकारी दिए ।

 
 
  
 

You may also like