कोरोना महामारीले धाराशायी बनाएको नीजि क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरोस्

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीबाट प्रभावित व्यबसायलाई गत बैशाख १६ देखि निषेधाज्ञा समाप्त भएको मितिदेखि ६ महिना समयावधिको कर्जाको व्याज पुँजीकरण गरि कर्जाको पुनसंरचना र पुनतालिकिकरण गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

अन्यको लागि गत बैशाख १६ गतेदेखि निषेधाज्ञा समाप्त भएको मितिबाट तीन महिनाको व्याज पुँजीकरण गर्दै कर्जाको पुनसंरचना र पुनतालिकिकरण गरि मौद्रिक नीतिमा समावेश गर्नुपर्ने सुझाव सहित बुटवल उद्योग बाणिज्य संघले मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएको हो ।

नेपाल राष्ट्र बैंकले आगामी साउनको पहिलो साता ल्याउने गरी मौद्रिक नीतिको तयारी गरिरहँदा संघले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सुदिप फुयाँल मार्फत गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव पठाएको हो ।

संघको टोलीले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख फुयाललाई ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले गत वर्ष करिव ४ महिनाको बन्दाबन्दी र अहिलेको करिव २ महिनाको निषेधाज्ञाले व्यबसायिक क्षेत्रमा नराम्रो प्रभाव परेकोले व्यबसाय बचाउनेगरी मौद्रिक नीति तर्जुमा गर्न आग्रह गर्नुभयो । उहाँले कोरोना महामारीले निजी क्षेत्र धाराशाही भएको र मौद्रिक नीतिमा सम्बोधन हुने विश्वास समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा बोल्दै कार्यालय प्रमुख फुयालले प्राप्त सुझावहरु समयसान्दर्भिक रहेको र तत्कालै नेपाल राष्ट्र बैंकमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकलाई पठाएको सुझावमा कोरोनाबाट प्रभावित व्यबसायलाई निषेधाज्ञा समाप्त भएको ६ महिना र अन्य सबै व्यबसायलाई निषेधाज्ञा समाप्त भएको ३ महिनासम्म साँवा ब्याज भुक्तानी गर्ने समयावधी थप गर्न पनि आग्रह गरिएको छ । त्यस्तै कोरोना प्रभावित व्यबसायहरुको नकारात्मक वित्तिय अवस्थाका कारण कर्जा नविकरणको समस्या रहेको हुँदा व्यबसायको प्रकृति र कोभिडको असरको मुल्यांकन गर्दै कर्जा नविकरणको व्यबस्था गर्नुभपर्ने, पुनःकर्जाको क्षेत्र बिस्तार गर्दै क्रमशः प्रभावितको अनुपातमा प्राथमिकता दिन पनि आग्रह गरिएको छ ।

हालको विषम परिस्थितीमा कर्जाको नविकरण शुल्क, डकुमेन्टेशन शुल्क, कर्जा प्रोसेसिङ् शुल्क नलिन आग्रह गरिएको छ । नयाँ स्थापित व्यबसायहरुलाई प्रकृति अनुसार १ देखि २ वर्षको ग्रेस अवधि प्रदान गर्न, खाद्य तथा कृषि व्यबसायहरुलाई आयात प्रतिस्थापनमा सहयोगको सुनिश्चित गर्दै प्रवद्र्धनको नीति लिन, नवप्रवद्र्धन तथा स्टार्टअप व्यबसायको बारेमा स्प्रष्ट नीति ल्याउन र त्यसमा जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुलाई अनुगमन तथा सिफारिसको भूमिका प्रदान गर्न तथा विद्युतीय भुक्तानी प्राणालीलाई प्रवद्र्धन गर्नेगरी नयाँ दर्ता हुने व्यबसायले अनिवार्य रुपमा बिद्युतीय भुक्तानी प्रणाली स्थापित गर्नुपर्ने नीति लिन सुझाव दिईएको छ ।

 
 
  
 

You may also like