संसद् पुनर्स्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन् : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहित परमादेश जारी हुने बताएका छन् ।

‘संसद् पुनः स्थापना र देउवालाई प्रधानमन्त्रीको घोषणासहित परमादेश जारी हुन्छ,’ सप्तरीको राजविराजमा आज (शनिबार) पत्रकारहरुसित यादवले भने, ‘यो ०१७ साल होइन यो ०७८ साल हो ।’

उनले राजा त्रिभुवनले संसद् बन्नै नदिने, ०१७ सालमा राजा महेन्द्रले संसद् भंग गर्ने, ज्ञानेन्द्रले पनि संसदमाथि नै प्रहार गर्दै निरकुंश बने जस्तै त्यसको पछिल्लो संस्करणको रुपमा अहिले प्रधानमन्त्री ओली संसद्माथि प्रहार गर्दे स्वेच्छाचारी र निरकुंश बनिरहेको आरोप लगाए । एकै जना प्रधानमन्त्रीले एउटै संसद्लाई दुईपटक भंग गरेको उदाहरण संसारमै नरहेको बताउँदै यादवले सार्वभौम संसद्लाई समाप्त गरी ओली निरकुंश बन्न खोजेको आरोप लगाए ।

संसद् भंग गरी प्रदेश समेत भंग गर्दै अध्यादेशमार्फत निरकुंश शैलीमा देश चलाउने ओलीको मनसाय रहेको यादवको आरोप छ । उनले लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारी ओलीले ०४७ साल ल्याउन खोजिएको पनि आरोप लगाए ।
यसैबीच अध्यक्ष यादवले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई शनिबार नै विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
‘आत्मलोचना गरे पार्टीमा रहन सक्नु हुन्छ’
जसपाभित्रको पूर्व राजपाका नेताहरु प्रतिगमनकारीलाई सघाएको अध्यक्ष यादवले बताए । ओलीको सरकारमा सहभागी भएकाहरु पार्टीमा पुनः आउन सक्ने उनले बताए ।

‘राजनीतिमा केही पनि असम्भव छैन । उहाँहरु बाटो परिवर्तन गरेर अग्रमगमनको बाटोमा आई आत्मोलचना गरे पार्टीमा रहन सक्नु हुन्छ’ उनले भने ।

 

 
 
  
 

You may also like