काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् ।
बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताएका हुन् । उनले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने बताए । विगतका कमी, कमजोरीहरुबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।
उनले भने, ‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको छ । यही प्रश्नचिन्ह खडा भएकै बेलामा हो हामीले धक्का दिन सक्यौं भने हाम्रा मान्यताहरु स्थापित हुने र साथसाथै पार्टीपनि अग्रणी शक्तिको रुपमा स्थापित हुने । यो धरातलीय यथार्थ छ । अब हामीले आगामी दिनका रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । पार्टी एकतालाई अक्षुण राख्दै, प्रतिवद्धता कायम गर्दै हामीले आफूलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता छ ।’
अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनको निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए । पार्टी गतिहीन भएको भन्दै यही अवस्थामा निर्वाचनमा भाग लिए पार्टीले हार बेहोर्ने पनि उनले उल्लेख गरे । उनले विगतका तितामिठा कुरा बिर्सेर एकताबद्ध हुन पनि आम पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।