छिटो संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याऊ : डा. भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जतिसक्दो छिटो संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने बताएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् अब छिटो भन्दा छिटो संवैधानिक परिषद् विधेयक खारेजसहित संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनु पर्नेमा जोड दिएका हुन् ।

आज (बुधबार) बिहान ट्वीटरमार्फत् नेता भट्टराईले अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहेको बेला आफूहरु भने राजनीतिक किचलोमा फसेको भन्दै यसको छिनोफानो चाँडो हुनुपर्नेमा जोड दिएका छन् ।

‘अरु देश आफ्ना सबै नागरिकलाई छिटो कोभिड–१९ खोप जुटाउन व्यस्त छन्, हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय/शक्ति खर्चने भयौं,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘अब त चेतौं– छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान/लोकतन्त्र ट्रयाकमा ल्याऊ ! अदालत/दल/नागरिकले आ–आफ्नो धर्म निभाऊ !’

 
 
  
 

You may also like