चार प्रदेशमा भारी वर्षाको सम्भावना, सावधान रहन आग्रह

काठमाडौं । आज (सोमबार) पनि देशका धेरै भू–भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश–१, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । काठमाडौंमा विहान मौसम खुले पनि केही समयपछि बदली हुने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताएका छन् । यद्यपि काठमाडौंमा भारी वर्षाको सम्भावना भने नरहेको उनले जानकारी दिए ।

नदी किनार तथा भिरालो क्षेत्रमा बाढी र पहिरोको सम्भावना धेरै हुने भएकाले सजग हुन उनको आग्रह छ । ‘बाढी पहिरो गइहालेको अवस्थामा के गर्ने भनेर पहिला नै सजग हुनुपर्छ । त्यसैले यस्तो बेला आफूले अपनाउनु पर्ने सजगताबारे पूर्वतयारी गर्नुपर्छ’, मौसमविद् श्रेष्ठ भन्छन्, ‘विपदको समय स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले यसबारे पनि पूर्व तयारी गर्नुपर्छ ।’

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला र खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले कमजोर जमिन भएका ठाउँमा बसोबास गर्नेहरु तथा नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले विशेष सजग हुनुपर्ने मौसमविद् मीनकुमार आर्याल बताउँछन् ।

नदीको बहावले खतराको तह पार गरेको अवस्थामा सुरक्षित ठाउँमा स्थानान्तरण हुनुपर्ने उनको सुझाव छ । निरन्तर पानी परिरहेका क्षेत्रमा भारी वर्षा नभए पनि कुनै पनि बेला पहिरो जनासक्ने भएकाले यसमा पनि सजग हुनु पर्नेमा मौसमविद् आर्यल सतर्क हुनुपर्नेमा जोड दिन्छन् । बाढी तथा पहिरोका कारण यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

 

 
 
  
 

You may also like