मनाङको चामेमा मर्स्याङ्दी नदी थुनिएर बन्यो ताल, बम विष्फोट गराई खुलाउने प्रयासमा सेना

मनाङ। पाँच दिनदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा–माटो र काठ–दाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो ।

थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाब बढेको हो । यसबाट चामेको पारीपट्टीको भाग डुबानमा परेको छ । सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एक मात्र बेलिब्रिज समेत कटान गरेको छ ।

चामेका पल्साङ गुरुङले मर्स्याङ्दी बढ्दै आएको र घट्टेखोलाबाट बगेको बाढीले ढुङ्गामुढा बगाएर थुपारिदिएपछि चामेमा मर्स्याङ्दी नदीले तालको रुप लिएको छ । यसबाट माथिल्लो मनाङ जाने पुल कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामे बजार उच्च जोखिममा परेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नदीको बहाब बढ्दै गएको र यसले चामेबजार थप जोखिममा पारेको बताए । उनका अनुसार चामेको बीच बजारबाट बगेर आएको बाढीसहितको ढुंगामुढा मर्स्याङ्दीमा पसेर मर्स्याङ्दीलाई ताल बनाइदिएको उनले बताए । उनले नेपाली सेनामार्फत बम विष्फोट गराई मर्स्याङ्दी खुलाउने भनिएकोमा पानी निरन्तर परिरहेकोले समस्या भएको बताए । सुरक्षाका सबै निकायसँग समन्वय गरी खुलाउने प्रयास भइरहेको उनले बताए ।

 
 
  
 

You may also like