बाढी पहिरोबाट कालिकोट र डोटीमा तीन जनाको मृत्यु, ठाउँ–ठाउँमा सडक अवरुद्ध

कालिकोट। लगातारको वर्षाका कारण पछिल्लो २४ घण्टामा पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ । सल्यान, दैलेख, हुम्ला, सुर्खेत, तनहुँ, पाल्पा, स्याङजा र गोरखाका विभिन्न स्थानमा सडक अवरोध हुनुका साथै धनमाल क्षति भएको छ ।

कालिकोट, खाडाचक्र नगरपालिका–६ मोल्फास्थित कर्णाली राजमार्गमा पहिरो जाँदा सोही नगरपालिका–६ बस्ने ५४ वर्षीय बले बिकको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

डोटी, सिलगढी नगरपालिका–५ जडिङ्गे बागमारे मोडस्थित सडकमा पहिरो जाँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने सुरेन्द्र भण्डारीको छोरा ७ वर्षीय बिनोद भण्डारी र सोही नगरपालिका–७ रातुली घर भई मामा घर आएकी नवराज बिष्टकी छोरी १० वर्षीया डेनिशा बिष्ट रहेका छन् ।

सुरेन्द्रको दुईवटा घर भएकोमा एक घरबाट अर्को घर जाने क्रममा पहिरो जाँदा उक्त पहिरोमा पुरिएर दुवै जनाको मृत्यु भएको हो । सल्यान, कालिमाटी गाउँपालिका–४ घुरचौरस्थित माइतीघर आउँदै गरेकी बाँके कोहलपुर नगरपालिका–१६ बस्ने ३० वर्षीया कौशिला खड्का सल्यान टट्लीस्थित सडकमा पहिरोमा च्यापिएर घाइते भएकी छन् ।

पहिरोले कालिमाटी–बोटेचौर सुर्खेत जाने सडक पूर्णरुपमा अबरोध भएकाले खुलाउन पहल भइरहेको छ । दैलेख, आठबिस नगरपालिका–५ घट्टेखोलास्थित कर्णाली राजमार्गमा ढुंगासहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

दैलेख, आठबिस नगरपालिका–१ रामाघाटस्थित कर्णाली नदीको बहाब बढ्दा जोखिम रहेको ४५ घरधुरीका २ सय जनालाई प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरी र स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ ।

हुम्ला, सिमकोट गाउँपालिका–१ ठेहेस्थित दोजाम जाने गोरेटो सडकमा पहिरो जाँदा ठेहे सिमकोट सडक खण्ड पूर्णरुपमा अवरोध भएको छ । साथै सोही ठाउँस्थित रलिङ खोलामा पानीको बहाव बढेकोमा माथिल्लो ग्याग्रुगाउँमा बस्ने ९ घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

हुम्ला, नाम्खा गाउँपालिका–१ स्थित ताग्रुखोलामा आएको बाढीले फलामको ट्रसब्रिज पुल बगाउँदा सिमकोट–हिल्सा जोड्ने सडक पूर्णरुपमा अवरोध भएको छ । सुर्खेत, गुर्भाकोट नगरपालिका–१ र २ को सिमाना पर्ने गोचे खोलामा बिहीबार राति आएको बाढीले सुर्खेत–दाङ सडक खण्ड अवरोध भएको छ । साथै उक्त बाढीले जोखिम रहेका सोही नगरपालिका–१ बस्ने राम बहादुर डाँगीको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पाल्पा, रैनादेवी छहरा गाउँपालिका–२ स्थित सर्देवा खोलाको किनारमा राखिएको सिजी कम्पनीको सामानहरु बाढीले बगाएको छ । क्षतिको विवरण खुल्न सकेको छैन । गोरखा, धार्चे गाउँपालिका–१ यरुबगरस्थित बुढीगण्डकी नदीमा आएको बाढीले सोही ठाउँ बस्ने गोपाल घलेको घर र सोही ठाउँ बस्ने राज कुमार ढकालको घर, ६ वटा बाख्रासहित खोर बगाएको छ ।

तनहुँ, भानु नगरपालिका–११ मानेचौका बस्ने सुरेश ढुङगानाको घरको गाह्रो अबिरल बर्षाको कारण भत्किदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्याङजा, गल्याङ नगरपालिका–८ करादीस्थित सिद्वार्थ राजमार्गमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

 
 
  
 

You may also like