काठमाडौं। आज (शुक्रबार) मौसममा सामान्य सुधार देखिएको छ । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिएका छन् ।
देशभर आंशिकदेखि सामान्य बदली रही आज विहान वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ । काठमाडौं उपत्यकामा अहिले समान्यतया मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेश र प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना विभागले जनाएको छ ।
विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।
प्रदेश–१, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भन्दै विभागले सतर्क रहन भनेको छ । यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।