गुल्मीमा १२ ठाउँमा बाढीपहिरो, सडक अवरुद्ध

गुल्मी । गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढी र पहिरो गएको छ । बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् ।

धुर्कोट गाउँपालिका-५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थान सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । धुर्कोटकै वडानम्बर ४ मा पहिरोले ७ घर र वडानम्बर ६ का १० घर जोखिममा छन् ।

यस्तै मदाने गाउँपालिका-२ म्यालपोखरिमा पनि पहिरो गएको छ । त्यहाँ २ घर जोखिममा छन् ।

रूरूक्षेत्र गाउँपालिका-१ लामाचौरपारिमा अस्थायी टहरा बनाएर भाडामा बसेकाहरु पनि विस्थापित भएका छन् । कालीगण्डकीमा पानीको वहाव बढेपछि टहरा डुवानमा परेका हुन । उनीहरु सुरक्षित स्थान सरेका छन् ।

कालीगण्डकी गाउँपालिका- ४ पुर्तिघाठमा एक घर / सिलाजी मन्दिर कालिगण्डकीको बाढीको जोखिममा परेका छन् ।

४ वटा सडक अवरुद्ध

पहिरोका कारण बाग्लुङ सडक खण्डअन्तर्गत सत्यवति गाउँपालिका – ६ उल्लिखोला र वडानम्बर ४ को साहाघाटमा सडक अवरुद्ध भएको छ ।

मुसिकोट तम्घास सडक खण्डअन्तर्गत दोभानमा पहिरो जाँदा सडक पूर्णरुपमै बन्द भएको छ ।

कालीगण्डकी-४ पुर्तिघाटमा पनि खहरे खोला बढेर सडक अवरुद्ध भएको छ । रेसुङ्गा नगरपालिका-१३ भगारिमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध छ ।

रूरूक्षेत्र गाउँपालिका-४ मा पनि सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकोले खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like