माओवादी नेता पाण्डेको हत्यामा संलग्न सँगै हातहतियार बेच्ने गिरोहका ११ जना प्रहरीको फन्दामा

इमरान खान
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नेकपा माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेयलाई गोली प्रहार गरि हत्या गर्ने कार्यमा संलग्न व्यक्ति सहित हातहतियार बिक्री बितरण गर्ने गिरोहका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली प्रहार पछि घाईते भएका पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । पाण्डेय सहित तिन जना मोटरसाईकलमा सवार भई तौलिहवा फर्किदै गर्दा गोली प्रहार भएको थियो ।

सो सम्बन्धमा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सो को म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरेको छ । त्यसैरी हत्यामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर २ बस्ने साकिर अलि पखिया र उनले प्रयोग गरेको कटुवा पेस्तोल र सोमा लाग्ने गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले वारदातमा प्रयोग गरेको स्वचालित पेस्तोल थान-१ सो को म्याग्जिन थान-१ तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

प्रहरीले साकिर अलि पखियाले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल आफ्नो घरमा लुकाउने कपिलवस्तु नगरपालिका वडा नम्बर १ का पुर्ण बिर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको छ । घटनामा संलग्नता रहेका ओम प्रकाश यादवसँग पाण्डेयको श्रीमती महिमा पाण्डेयको अनैतिक सम्बन्ध रहेकै कारण मृतक दिपक पाण्डेयकी श्रीमती महिमा पाण्डेयको मुख्य योजनामा दिपकको हत्या भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । दिपक पाण्डेयलाई मार्ने २/३ बर्ष देखिनै दिपक पाण्डेयकी श्रीमती महिमा पाण्डेयले योजना बनाई राख्दा पनि असफल भइराखेकी थिन । मृतक दिपककी श्रीमती महिमाकै मुख्य योजनामा दिपकको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले आज पत्रकार सम्मेलन गरी जानकारी गराएका छन ।

प्रहरीले पाण्डेय हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग पुर्याएका ६ जनालाई नै नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका ४ पोखरभिटवाका राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, यशोधरा गाउँपालिका-४ सेमरी बस्ने गोलु चौधरी भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ गोटीहवा बस्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्जिदटोलका मोटे भन्ने नरसत अलि रहेका छन ।

 
 
  
 

You may also like