प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई दबाव दिएको भन्दै सुरक्षा दिन अपील

काठमाडौं। बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी सरकारबाटै असुरक्षित भएको भन्दै सुरक्षाका लागि अपील गरेको छ ।

झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएको उनीहरुले जारी गरेको अपीलमा भनिएको छ । त्यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले समेत उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गिर्न धम्कीसहित चरम दबाब दिएको भन्दै अपीलमा डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको उल्लेख गरिएको छ ।

‘राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भर्त्सनायोग्य छ,’ अपीलमा भनिएको छ । बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले प्रधानमन्त्रीको सरकारी निवासलाई नै गुण्डागर्दीको थलो बनाएको भन्दै आपत्ति जनाएका छन् ।

‘त्यसैले डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बन्न पुगेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौं,’ अपीलमा भनिएको छ ।

अपिलको पूर्णपाठ

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको सुरक्षाका लागि अपिल

यही जेठ २८ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकपछि विकसित नाटकीय घटनाक्रमहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त बैठकमा बीएण्डसी मेडिकल कलेजको सम्बन्धनबारे चलेको छलफल निश्कर्षविहीन भएको तथा विज्ञ सदस्यहरुले आवश्यक प्रक्रिया पुर्‍याएर मात्रै सम्बन्धन दिनुपर्ने कुरा राखेको तथ्य सार्वजनिक भैसकेको छ । त्यसै सन्दर्भमा आज विकसित घटनाक्रमले अत्यन्त गम्भिर मोड लिएको छ ।

आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजिनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ ।

राज्यशक्तिको चरम् दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भत्सर्नायोग्य छ । मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयम्मा भत्सर्नायोग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ । त्यसैले डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मूख्य चिन्ताको विषय बन्न पुगेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौं ।

त्यसैगरी डा. गिरीको सुरक्षाका निम्ति आ–आफ्नो ठाउँबाट आवाज उठाउन र आन्दोलित हुन हामी सबै राजनीतिक दल, पेशाकर्मी तथा नागरिकहरुमा अपिल गर्दछौं ।

बृहत् नागरिक आन्दोलन

सोलिडारिटी फर डा. केसी अलायन्स

 

 
 
  
 

You may also like