पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले फेरि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
जसपा महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र केन्द्रबाट पठाएको थियो । शुक्रबार नै महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र पठाएको ठाकुर निकट एक नेताले जानकारी दिएका छन् । गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले बहुमत ३१ सांसदको हस्ताक्षर र सशरीर उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज ३ बजेसम्मको समय दिएकी थिइन् । विपक्षी गठबन्धनका नेता सपथका लागि प्रदेश प्रमुखको निम्तो पर्खेर बसेको भए पनि आफैले दिएको समय सीमाभित्र प्रदेश प्रमुखले सरकार गठनको प्रक्रिया नै अघि बढाइनन् । प्रदेश प्रमुखले सरकार गठनको प्रक्रिया अघि नबढाएपछि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।