एमालेलाई जेठ ३ पूर्वको अवस्थाबाट सक्रिय गराउने ओलीको घोषणा, हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त

काठमाडौ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन तयार भएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले पार्टीका मातहतका कमिटी र जनसंगठनहरू पनि मूलभूत रूपमा ३ जेठपूर्वको अवस्थाबाट क्रियाशील बनाउने घोषणा गरेका हुन् । तर त्यसको लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको शर्त छ ।

अध्यक्ष ओलीले यसबीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने भन्दै एकताको लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।

विज्ञप्तिको पूर्ण पाठ

नेकपा (एमाले)को एकताका लागि आह्वान

प्रिय कमरेडहरु ।
नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र पार्टी एकताका विषयमा पार्टी पङ्क्ति एवं आम जनसमुदायबाट समेत व्यक्त भएका चासो, सरोकार र चिन्तालाई मैले गंभीरतापूर्वक लिएको छु । पचास वर्ष भन्दा पहिले विभाजन र विखण्डनको दुःखद शृङ्खलाबाट गुज्रिरहेको कम्युनिष्ट आन्दोलनलाई आधारभूत तहबाटै पुनर्गठन एवं एकतावद्ध गर्न नयाँ अभियान सुरुवात गर्ने सीमित व्यक्तिहरुमध्ये एक हुनुको नाताले मैले पार्टी एकताको महत्व र खाँचोलाई गहिरो गरी बुझेको छु । म सधैभरि कम्युनिष्ट आन्दोलनको एकता, लोकतान्त्रिक शक्तिहरुको एकता र राष्ट्रिय एकताको पक्षमा रहँदै आएँ । भोलिका दिनमा पनि म यसैका निम्ति क्रियाशील रहने छु ।

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ हामीले २०७५ जेठमा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरेका थियौं। एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रुपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोहो¥याइरहन आवश्यक देख्दिनँ ।

तर त्यो एकीकरण निष्कर्षमा पुग्न सकेन । यसका कारणहरु बारे यहाँ धेरै भन्न चाहन्नँ । २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भङ्ग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन् । तर यो यथार्थ होइन । सर्वोच्च अदालतले त नेपाल कम्युुनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरी गरिएको दर्ता मिलेन भनेको हो । एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । र यसका लागि समय पनि दिएको हो । पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ । तर पुष्पकमल दहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण मेरो प्रयाश सफल हुन सकेन । त्यसपछि मात्रै हामी एकीकरणका पक्षधरहरुको साझा पार्टी, एकताको बिरासत बोकेको पार्टीका रुपमा नेकपा (एमाले) लाई नयाँ स्वरुप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौं ।

नेकपा (एमाले) को निर्माण र विकासमा हजारौं योद्धाहरुको पसिना, त्याग र बलिदान अन्तरनिहित छ । यस पार्टीप्रति जनताको अपार विश्वास छ । नेकपा (एमाले) लाई सुदृढ गरेर मात्रै कम्युनिष्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउन सकिन्छ । यसो गरेर मात्रै मुलुकको लोकतन्त्र सुदृढ हुन सक्छ । त्यसको जगमा मात्रै राष्ट्र एकताबद्ध र सबल हुन सक्छ । विकसित र समृद्ध हुन सक्छ । त्यसैले यस पार्टीलाई किमार्थ कमजोर बन्न दिनु हुँदैन ।

आज नेकपा (एमाले) को आन्तरिक जीवनमा समस्याहरु देखा परेका छन् । ती समस्याहरुबाट पार्टी पङ्क्ति मात्रै होइन, राजनीतिक स्थिरता र लोकतन्त्रका पक्षधर आम जनसमुदाय समेत चिन्तित छन् । परिस्थितिको गांभीर्यलाई ध्यानमा राखेर पार्टी अध्यक्षका हैसियतले मैले एकताका निम्ति गरेको अथक प्रयाश र निरन्तर पहलबारे यहाँहरु सबै परिचित हुनुहुन्छ । तर हाम्रा अनवरत प्रयाशका बाबजुद जे नहुनुपथ्र्यो, त्यही भइरहेको छ । जे हुनु पथ्र्यो, त्यो भने भइरहेको छैन ।

पार्टी एकताको मुख्य आधार पार्टीका स्थापित सिद्धान्त र नीति, विधि र पद्धति एवं मूल्य र मान्यताहरु हुन् । राष्ट्र, जनता र आन्दोलनको हितलाई केन्द्रबिन्दुमा राखेर असल मनशायले अगाडि बढ्ने हो भने हामीबीचका समस्याहरु समाधान हुन नसक्ने म कुनै कारण देख्दिनँ । त्यसका लागि सबैभन्दा पहिले हामी एक ठाउँमा उभिन जरुरी छ । एकताको लक्ष्य राखेर सकारात्मक र सिर्जनात्मक योगदान गर्न आवश्यक छ ।

तसर्थ, पार्टी एकताको पक्षमा निरन्तर पहल गर्ने कमरेडहरुका भावना र सुझावलाई समेत ध्यानमा राखेर पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न देहायको प्रस्तावसहित आह्वान गर्दछु–

१. नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् ।

२. मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।

३. सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।

४. आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ ।

५. यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कार्बाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन ।

६. नेकपा (एमाले) लाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ ।

केपी शर्मा ओली
अध्यक्ष

 
 
  
 

You may also like