सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट दुई जना मन्त्री नियुक्त गर्दै शनिबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका छन् । सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस २०७४ सालको निर्वाचनपछि आज पहिलो पटक सत्तामा फर्किदै छ । कर्णाली प्रदेश सरकारबाट कांग्रेसले सत्तारोहणको यात्रा सुरु भएको हो । चार वर्षअघि भएको निर्वाचनपछि केन्द्र र सातै प्रदेशमा प्रतिपक्षीमा बसेको कांग्रेस पहिलो पटक प्रदेशमार्फत सत्तामा प्रवेश गरेको हो । नेपाली कांग्रेस दलको बैठकले बीसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । प्रदेश प्रदेश प्रमुखको कार्यालयले पनि शुक्रबार साँझै मन्त्री नियुक्त भएको जानकारी गराएको हो ।
कांग्रेसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीलाई आजै सपथ खुवाउने तयारी गरिएको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएर साथ दिएको थियो । त्यसक्रममा नेकपा एमालेको माधव नेपाल समूहका चार सांसदले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाइदिएका थिए । त्यस लगत्तै सरकारमा जाने सहमति भएपनि कांग्रेसले सरकारमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लगाउन सकेको थिएन ।
शुक्रबार साँझ मात्रै कांग्रेसले १३ बुँदे आचारसंहितासहित दुई जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । दुई मन्त्री थपिएसँगै कर्णालीको मन्त्री मण्डल ८ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्रीसहित ३ जना माओवादी केन्द्रका रहेका छन् भने एमाले माधव समूहका ३ जना र कांग्रेसका २ जना रहेका छन् ।