यूएईबाट विशेष विमानमार्फत आइपुग्यो १५० भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री

काठमाडौं। यूनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई कोभिड महामारी सामना गर्न आवश्यक स्वास्थ्य सामग्री पठाएको छ ।
यूएईले नेपाललाई १५० भेन्टिलेटर, १५० ट्रली, ३ लाख १८ हजार ६ सय मास्क, ९ हजार कभरअल, १५ हजार गाउन र २० हजार गगल्स पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यूएईले पठाएका यी सामग्री लिएर विशेष विमान बुधबार विहान काठमाडौं आइपुगेको हो । काठमाडौंस्थित यूएई दूतावासका अधिकारीले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरेका छन् । नेपाल सरकारले गरेको अनुरोधका आधारमा यूएईले सो सहयोग प्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो सहयोगप्रति नेपालले यूएईलाई विशेष धन्यवाद दिएको छ । यूएईका परराष्ट्र राज्यमन्त्री अहमद अली अल सायेगले सो सहयोग गर्नेबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सायेगबीच सोमबार भएको भर्चुअल वार्ताका क्रममा उनले सो जानकारी गराएका हुन् । सो भर्चुअल वार्तामा नेपाल र यूएई सम्बन्धका विभिन्न पक्ष र कोभिडसम्बन्धी विषयहरु छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

 
 
  
 

You may also like