काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्ध खोप सहयोग गर्न अनुरोध गर्दै बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई पत्र पठाएकी छन् । त्यो पत्र बेलायतको विदेश मन्त्रालयमा आइतबार बुझाइएको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
यस्तै राष्ट्रपति भण्डारीले आइतबार नै रुसका समकक्षी भ्लादिमिर पुटिनलाई पनि कोरोनाविरुद्ध खोप सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएकी छन् । उनले पुटिनसँग फोन संवाद नै गर्न चाहेको भए पनि सम्भव नभएको स्रोतले जानकारी दिएको छ ।
यसअघि राष्ट्रपतिले अमेरिकाका राष्ट्रपति जो बाइडेन र भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पनि कोरोना खोपकै सहायता माग गर्दै उनले पत्र पठाइसकेकी छन् ।
यस्तै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङलाई पनि टेलिफोन गरेर कोरोना खोप सहयोग गर्न आग्रह गरेकी थिइन् भने लगत्तै चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । चीनले घोषणा गरेको खोप बेइजिङबाट ल्याउन आज नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाँदैछ ।
कोरोनाविरुद्धको खोप जुटाउन राष्ट्रपति भण्डारी सक्रिय भइरहेका बेला पराराष्ट्रविदहरुले प्रधानमन्त्री र पराष्ट्रमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन् । कार्यकारी प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले गर्नुपर्ने काम राष्ट्रपतिले गरेको भन्दै पराराष्ट्रविदहरुले प्रधानमन्त्रीको भूमिकाका बारेमा प्रश्न उठाएका छन् ।