पूर्ण बजेटको विकल्प थिएन, कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् ।
आज (आइतबार) बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक समृद्धिमै केन्द्रित भएकाले कार्यान्वयनमा कुनै दुविधा नहुने बताएका छन् ।

सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत पूर्ण बजेट ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको स्पष्ट पारेका छन् । उनले पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत नभएको जिकिर गरेका छन् । उनले बजेट कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ आएको बताउँदै देखाउनको लागि मात्रै नभई कार्यान्वयन गर्न ल्याएको बताए ।

‘बजेट कार्यान्वयनमा हामीले जोड दिन्छौँ’, उनले भने, ‘भोलिबाटै मन्त्रालयका विभिन्न कार्यक्रमलाई अघि बढाउँछौं ।’ उनले बजेट कोभिड रोकथाम तथा उपचारका केन्द्रित भएको दाबी गरे ।

‘खोपको शीघ्र प्रबन्ध गरेर सबै नागरिकलाई उपलब्ध गराउने प्रयत्न गर्छौँ’, अर्थमन्त्री पौडेलले भने, ‘सरकार सम्पूर्ण सामथ्र्यका साथ नागरिकको जीवन बचाउन लाग्नेछ ।’ कोभिड प्रभावित क्षेत्रलाई पुनरुत्थान गर्नको लागि स्पष्ट दृष्टिकोणका साथमा बजेट ल्याएको उनले बताए । ‘अर्थतन्त्रलाई पुरानै गतिशील अवस्थामा फर्काउने आत्मविश्वासका साथ बजेट ल्याएको हुँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

 
 
  
 

You may also like