भेरी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
असुरक्षित वातावरणमा काम गर्न नसकिने भनि अस्पतालका सबै (ड्यूटीमा रहेका बाहेक) कर्मचारीहरू बिहानैदेखि आन्दोलित भएका हुन् ।

यस्तो विषम् परिस्थितिमा समेत स्वास्थ्यकर्मीहरुले आफ्नो पेशागत दायित्वलाई निर्वाह गर्दै आकस्मिक कक्ष तथा कोभिड वार्डमा भर्नारत रहेका सबै बिरामीहरूको उपचार भने जारी रहेको अस्पतालले जनाएको छ ।

गएराती स्वास्थ्यकर्मीहरू उत्तेजित भिडबाट बच्न नजिकैको कोठामा लुकेको अवाश्तामा व्यक्तिहरू आएर ढोका, कुर्सी तोडफोड गरेको र ज्यान जोगाउन चिकित्सक तथा नर्स सोहि कोठाको झ्यालबाट हाम फाल्नुपरेको अस्पतालले जनाएको छ ।

आइसियुमा बाहिरबाट अराजक मानिसहरु घुसपैठ गरि अन्य बिरामीको उपचारमा समेत बाधा परेकाले बेड न ए७ र बि ४९ जहाँ उपचारत स्वास्थ्यकर्मीकै अभिभावकको क्रमश: ९:१५ र १२ बजे मृत्यू भएको अस्पतालले बताएको छ ।

गत जेठ ४ गते अस्पतालमा भर्ना हुनुभएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेका थिए ।

घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्धरूपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारवाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरेका छन् ।

मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उनको भनाइ छ । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका छन् ।

ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिइन् । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् ।

घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेको थियो ।

अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारवाही हुनुपर्ने माग राखेका छन् । चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

 
 
  
 

You may also like