कमेडियन आदर्श मिश्राले बुबा विनोद मिश्राको मृत्यु वीरगन्जका दुई अस्पताल नारायणी र नेशनल मेडिकल कलेजको लापरवाहीले भएको आरोप लगाएपछि अस्पताल प्रशासन र चिकित्सकले त्यसमा आपत्ति जनाइरहेका छन्।
आदर्शले नारायणी अस्पतालका मिर्गाैला डायलसिस विभाग प्रमुख डा. निरज सिंहको नामै किटेर सामाजिक सञ्जालमा बोलेपछि नेपाल चिकित्सक संघ केन्द्रीय कमिटिका ज्वाइन्ट सेक्रेटेरीसमेत रहेका सिंहको पक्षमा चिकित्स संघ नारयणी अञ्चल शाखाले विज्ञप्ति नै निकालेको छ। अध्यक्ष डा. अरुण कुमार सिंहको हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा आदर्शले डा. सिंहको चरित्र हत्या गरेको भन्दै कारवाही गर्न माग गरिएको छ।
त्यस्तै नेशनल मेडिकल कलेजले पनि आदर्शले प्रेषित गरेको भिडियो भ्रमपूर्ण रहेको भन्दै विज्ञप्ति निकालेको छ।
उता बाबाको किरियामा बसेका आदर्शलाई भने अस्पतालको लापरवाही सार्वजनिक गरेपछि निरन्तर फोन कलहरु आइरहेका छन्। त्यसकारण उनले फेसबुकबाटै आग्रह गरेका छन्, ‘मलाई कसैले पनि फोन गरेर भाइ, यो नाम नलिइदेऊ वा यो पोस्ट हटाइदेऊ भनेर नभन्नुस्। मलाई १२ वटा फोन आइसक्यो बिहानबाट। मेरो मुखबाट निक्लेको हरेक स्टेटमेन्ट मेरो बाबाको ज्यानजस्तै हो, त्यो फिर्ता हुँदैन।’
यतिखेर आदर्शमाथि अस्पताल र चिकित्सकले मानहानिको मुद्दा हाल्ने चर्चा पनि चलिरहेको छ। आदर्शले माफी नमागे चिकित्सकले डायलसिस नै रोक्नेसम्मको धम्की आदर्शको कानसम्म आइसकेको छ।
नमस्कार सबैजनालाई! तपाईंहरुलाई मेरो अनुहार हेरेर इनफै वाक्क लागिसक्यो होला। जताततै त्यही नै न्यूज छ। मेरो बाबाप्रति साथ समर्थन जनाउनुहुने सबैप्रति म आभार प्रकट गर्दछु।
र, म आज फेरि मिडियामा आउनुको खास कारण के भने म आज माफी माग्दैछु। नारायणी अस्पतालका डाक्टर निरज सिंहसँग माफी माग्नु छ मलाई।
मलाई माफ गर्दिनुस्, मैले तपाईंको स्वास्थ्य व्यवस्थामाथि औँला उठाएँ। मलाई माफ गर्दिनुस् मैले तपाईंलाई जिम्मेवार मानेँ, यी मृत्युहरुप्रति। किनभने मलाई तपाईंको घमण्डभन्दा मान्छेको ज्यान ठूलो लाग्यो।
मलाई माफ गर्दिनुस्, तपाईंले डायलसिस मेशिन बिग्रिएको छैन भन्दाखेरी मैले उल्टै प्रतिप्रश्न गरेँ, ‘त्यसो भए महाविर पुनसँग किन सहयोग माग्नुभयो?’ पोखराबाट इन्जिनियर किन नआएको हामीलाई पनि थाहा छ। पहिलेको इन्जिनियरको पेमेन्ट अझै बाँकी रहेछ। कहाँ गयो त्यो नारायणी अस्पतालको पैसा?
हजुर चिफ हो तपाईंलाई थाहा होला। तर, यी प्रश्नहरु मैले तपाईंलाई सोध्न मिल्दैन किनभने तपाईं भगवान हो। त्यसैले मलाई माफ गर्दिनुस्।
माफी त माग्नैपर्छ मैले। मैले गल्ती गरेको छुँ। सायद मेरो बाबा हुनुभएको भएँ उहाँले पनि माफी माग्नुहुन्थ्यो होला।
म प्लस टु पढ्दाखेरी मैले मेरो बाबाको किड्नी फेल भएको थाहा पाएको हो। मेरो पढाइमा असर गर्छ भनेर मलाई डेढ वर्षसम्म यो कुरा सुनाइएको थिएन।
त्यतिबेला म राम्रै पैसा कमाइरहेको थिएँ। चिल लाइफ बाँचिरहेको थिएँ, जसरी रणवीर कपुरले फिल्म ‘वेक अफ सिद’मा बाँचेको थियो।
तर, जब मैले मेरो बाबाको किड्नी फेल भएको थाहा पाएँ, त्यसपछि मसँग असल छोरा बन्नका लागि करिब १२–१३ दिन थियो। अब तँ घरको छोरा होस्। तँ जिम्मेवार बन्नुपर्छ, सबैको चाहना यस्तै थियो।
मलाई थाहा छैन, मैले कति गर्न सकेँ तर बाबाको जब किड्नी फेल भयो त्यसपछि हाम्रो घरमा कहिल्यै पनि दीपावली आएन। सायद हरेक किड्नी बिरामीका परिवारले यो महसुस गर्न सक्छन्।
मैले छठको सजियाघाटकै दिन बाबालाई डायलसिसमा लिएर गएको छु। होलीको दिन लिएर गएको छु, दिपावलीको दिन लिएर गएको छु। अनि बाबाले बित्नुभन्दा अगाडि सधैँ भनिरहनुहुन्थ्यो, ‘मेरो डायलसिस भयो भने म बाँच्छु, भएन भने म बाँच्दिन।’
अनि, डाक्टर सा’ब मैले विभिन्न ठाउँबाट तपाईले मलाई मानहानीको मुद्दा हाल्दै हुनुहुन्छ भन्ने सुनेर माफी मागिरहेको छैन। मुद्दा त जहाँ जहाँ गएर हाल्नुस्, म डराउनेवाला छैन।
मुद्दा त पहिले पनि हालिएकै हो। पहिले पनि ९ दिन परेकै हो। फेरि एकचोटी गर्नुस् सर, खासै फरक पर्दैन। अनि, यसपाली त झन् न मलाई इमेजको बाल छ, न कोही मान्छे गुमाउनुको डर छ, न आफ्नै केही हराउनुको।
पागल मान्छे हो म, लास्टै पागल। मानहानीको मुद्दाबाट पछि हट्नेवाला छैन। त्यसैले यो डरका कारण म तपाईसँग माफी मागिरहेको छैन। तपाईले भन्नुभएछ, आदर्श मिश्राले माफी मागेन भने म भोलिपल्ट किड्नीका बिरामीको डायलसिस बन्द गर्दिन्छु। हो, म यसकारण माफी मागिरहेछु।
मान्छेको ज्यानभन्दा ठूलो तपाईको त्यो इगोलाई मेरो सलाम छ, सर। फेरि पनि माफ गर्दिनुस् सर, मैले नारायणी अस्पतालमाथि औँला उठाएँछु।
यसमा तपाईंको कहाँ सरोकार हुन्छ र, सर ? तपाई त डाक्टर साहेब हो। तपाईले त पेपरमा साइन गरिदिए पुग्छ। तपाईले त ठूल्ठूलो ट्रान्सप्लान्टहरु गर्ने हो। तपाईले एक कलमा कुरा सिध्याउने हो। तपाईले त मान्छेको जीवनको निर्णय गर्ने हो।
तपाई त चिफ अफ डायलसिस हो। अस्पतालमा डायलसिसका बिरामीलाई लग्ने ह्विलचेयर छ कि छैन भनेर हेर्ने तपाईको काम कहाँ हो र? त्यो त पिउन या नर्सको काम हो नि। तपाईको नर्सले पिपिई लगाइरहेको छ कि छैन, त्यो तपाईको सुपरभिजनमा कहाँ पर्छ र सर? तपाईलाई त एसी भएको रुममा बसे पुग्छ…।
तर, जति पनि शब्द म अहिले तपाईलाई भनिरहेको छु नि त्यसका लागि ‘आइ एम सरी’। डा. निरज सिंह सर, मैले तपाईको अहंकारलाई चोट पुर्याएको छु।
अनि, मुद्दा हाल्दाखेरी केही पनि डिटेल मिस नहोस् भनेर म तपाईलाई मेरो सम्पूर्ण विवरण जानकारी दिन चाहन्छु।
मेरो नाम– आदर्श मिश्रा
ठेगाना– पर्सा ३३ (अनि, नागरिकतामा बारा, महागढिमाइ नगरपालिका)
बुबाको नाम– विनोद मिश्रा
सायद तीनपुस्ता खुलाउनुपर्छ होला। एउटा मुद्दा पहिले पनि परेको छ नि त, त्यसैले थाहा छ।
हजुरबुबाको नाम– गुजेश्वर मिश्र
ल सर, यो डिटेल्सलाई लिएर तपाई मुद्दा अघि बढाउनुस्। मसँग को छ, को छैनन् मलाई थाहा छैन तर केही केही मान्छेहरु छन्। म ती मान्छेहरुलाई लिएर म अघि बढ्छु। अनि, हेरौँला जित कसको हुन्छ?
मेरो हार भए पनि मलाई खास दुःख लाग्दैन होला। किनभने म लड्नमा खुलेर लडेको छु, बोल्नमा खुलेर बोलेको छु।
मान्छेहरु मलाई सोध्छन्– तँ किन यति सुप्रिम हुन्छस् ? तर, मैले आफूमा भएको सम्पूर्ण गुणहरु मैले मेरो बाबाबाट सिकेको हो।
एकपटक प्रचण्ड एनएमसी हस्पिटल आउँदाखेरी बसुरिद्दिन अन्सारी सरले ‘ए हट, हट, हट’ भन्दै वरिपरि मान्छे धपाउँदै हुनुहुन्थ्यो। अनि, बाबाले चाहिँ ‘भगवान हो उहाँ?’ भनेर भन्नुभएको थियो।
त्यसपछि प्रचण्ड आएर बाबासँग कुरा गर्नुभयो। बाबाले समस्या सुनाउनुभयो। त्यसपछि प्रचण्डले भन्नुभयो, ‘अँ, त्यही भएर त मैले डायलसिस फ्रि गराइदिएको छु।’
अनि, बाबाले ‘डायलसिस तपाईले फ्रि गराएको हो? यो त गगन थापाले गर्नुभएको’ भनेर जवाफ फर्काउनुभयो। त्यसपछि प्रचण्डले केही बोल्न सक्नुभएन। हो, त्यति साहसी थिए, मेरो बाबा। थिए होइन, छन्।
किनभने विनोद मिश्राको छोरा हो। खुनको जल्वा त अलिअलि देखिन्छ। फाइनल्ली, सरी फर एभ्रिथिङ। डायलसिस नरोक्दिनुस्। एउटा विनोद मिश्रा गइसक्नुभयो। अझै कतिजना विनोद मिश्राहरुलाई पठाउनुहुन्छ तपाईहरु? थाहा छैन मलाई, तर डायलसिसचाहिँ नरोकिदिनुस्। खुट्टामा गिर्न पर, गिर्छु म। लोकेसन भन्दिनुस् बरु तर बिरामीको डायलसिस नरोकिदिनुस्। ज्यानभन्दा ठूलो तपाईको इगो होइन, सर। धेरै, धेरै, सरी!