शक्तिशाली ‘यास’ चक्रवातको असर शुरु, सजग रहन आग्रह

काठमाडौं। बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली चक्रवातमा परिणत भइसकेको छ । जसको प्रभाव शुरु भइसकेको छ ।
उक्त प्रणाली उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (बुधबार) सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको छ । यसको असर केही दिनमा नेपालको भू–भागमा समेत पर्ने सम्भावना रहेकाले सबैलाई सजग रहन मौसमविद् बरुण पौडेल आग्रह गरेका छन् ।

आज अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदलीको भई वाग्मती प्रदेश र प्रदेश–१ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन विभागले आग्रह गरेको छ ।

देशका धेरै स्थानमा बुधबारबाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । बिहीबार (१३ गते) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागहरू हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहीहरूलाई सतर्क रहन विभागले भनेको छ ।

मेघगर्जन, चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् पौडेल बताउँछन् । पौडेलका अनुसार चक्रवातको असर तुलनात्मक रुपमा नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने छ । मौसमविद् पौडेल भन्छन्, ‘चक्रवातको असर नेपालको पूर्वी क्षेत्रमा बढी पर्ने देखिएको छ । यद्यपि यसको असरमध्ये क्षेत्र र पश्चिममा पनि पर्नेछ । यसबाट सचेत रहन र विभागले निरन्तर सूचना प्रकाशन गर्दै आएको छ । सूचना अनुसार सतर्क रहन हाम्रो अनुरोध छ ।’

 
 
  
 

You may also like