सीमा नाकामा झडप : एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते

धनुषा। महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका छन् ।

मटिहानीमा अवस्थित २ नम्बर बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्ष समेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोस्ट (बीओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०–६० भारतीयले मदिरा खाएर एक्कासी २ नम्बर बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए । करिब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुंगामुढाबाट डियुटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोसाक (चुस्ता) समेत ढुंगामुढा गर्नेहरुले च्यातिदिएका छन् ।

यता, भारतीय व्यापारीका अनुसार बीओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायत वस्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठीचार्ज गरेका थिए ।

सशस्त्र प्रहरीको लाठीचार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् । उनीहरुले आफूहरु महिनाबारी (महिनामा एकैचोटी) रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् । त्यसैगरी, स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुंगामुढा गरेको बताएका छन् । रासस

 
 
  
 

You may also like