राष्ट्रपति र प्रधानमन्त्रीको कदमको विरोध गर्दा नेविसंघका नेता पक्राउ

काठमाडौं। प्रधानमन्त्री र राष्ट्रपतिले मध्यरात संसद विघटन गरेको भन्दै विरोध गर्ने क्रममा काठमाडौंमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल विद्यार्थी संघले सञ्चालन गरेको राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘गोबर उपहार’ आन्दोलन क्रममा नेता त्रिपाठीलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

‘मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमका विरुद्ध प्रतिकात्मक विरोधस्वरूप प्रतिगमनका मतियार, दिमागमा गोबर भरिएका विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने कार्यक्रममा आज काठमाडौं, बानेश्वरमा नेपाल विद्यार्थी संघका साथीहरुमाथि गरिएको प्रहरी हस्तक्षेप निन्दनीय छ,’ नेविसंघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट गरिएको गिरफ्तारप्रति घोर भर्त्सना गर्दै विनासर्त तत्काल रिहाइको लागि जोडदार माग गर्दछौं ।’

सरकारविरुद्ध प्रर्दशन गर्नेविरुद्ध कठोर बन्न प्रहरीलाई निर्देशन
प्रहरीलाई प्रदर्शनकारीविरुद्ध कठोर रुपमा प्रस्तुत हुन निर्देशन दिइएको छ । सरकारविरुद्धको आन्दोलन चर्किन सक्ने सम्भावना रहेकाले गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

अनौपचारिक रुपमा दिइएको निर्देशनमा देशभर हुनसक्ने प्रदर्शनलाई निस्तेज पार्न भनिएको छ । एक उच्च प्रहरी अधिकारीले भने, ‘पछिल्ला घटनाक्रमपछि मुलुकमा अन्योलको अवस्था छ । कोरोना महामारीका कारण प्रदर्शन त त्यति भएका छैनन् तर भइहाले रोक्नु भन्ने छ ।’

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेपछि विपक्षी दलहरुले सरकारविरुद्ध आन्दोलनमा उत्रिन आह्वान समेत गरेका छन् । तर, सुरक्षा निकायले महामारीको बढ्दो त्रासका कारण प्रर्दशनमा कमी आएको निष्कर्ष निकालेका छन् । सरकारी अधिकारीले भने सरकारविरुद्धको आन्दोलन नभई निषेधाज्ञा मिच्ने क्रम बढेकाले कडाई गर्न भनिएको दाबी गर्दै आएका छन् ।

 
 
  
 

You may also like