खेल्न निस्केका दाजुभाइको घाँटी रेटी हत्या, शंकास्पद केहि व्यक्ति पक्राउ

बारा । बारामा घरबाट खेल्न निस्केका दाजुभाइको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–७ सरंगापुर बस्ने अब्दुल गफार अन्सारीका छोरा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको घाँटी रेटेर विभत्स हत्या भएको हो ।

दाजुभाइको शव घाँटी रेटेर हत्या भएको अवस्थामा मंगलबार बिहान स्थानीय एक मदरसामा फेला परेको हो । उनीहरु सोमबार साँझ ७ बजे खेल्न निस्केका थिए । रातिसम्म घर नफर्किएपछि परिवारजनले उनीहरुको खोजी गरेका थिए । नभेटेपछि स्थानीय प्रहरीमा पनि जानकारी गराइएको थियो । खोजविनको क्रममा दाजुभाइको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ । हत्यामा संलग्न भएको आशंकामा केहि व्यक्तिलाइ सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हत्यारा पत्ता लगाउन अहिले विशेष तालिम प्राप्त कुकुरको टोली प्रदेश प्रहरी कार्यालय जनकपुरबाट घटनास्थलको अनुसन्धानको लागि आउन लागेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिएका छन् ।

‘साँझ बालकहरु खेल्न निस्केका थिए । खोजविनको क्रममा दुबै बालकको शव फेला परेको हो । घटनाको विषयमा अनुसन्धान गर्दैछौं’ उनले भने ‘अहिले डग टोली घटनस्थलको अनुसन्धानका लागि आउँदैछ । त्यसपछि शव पोस्टमार्टमको लागि लग्छौं ।’ अन्सारीका दुई मात्र छोरा थिए भने दुई छोरी छन् । बालकको हत्याले अन्सारीको परिवारसहित गाउँले शोकमा डुबेका छन् ।

 

 
 
  
 

You may also like