कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधन

सप्तरी। कोरोना भाइरस संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ । सप्तरीमा सोमबारयता चौधरीसहित आठ जनाको ज्यान गएको छ ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । उनी नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् ।

सप्तकोशी–५ का वडाध्यक्ष दीपक लेखीका अनुसार संक्रमण देखिएपछि चौधरीलाई १० दिनअघि नोबेल अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवती समेत थिइन् । नोबेलमै उपचारका क्रममा तीन दिनअघि चौधरीको पेटबाट मृत बच्चा निकालिएको अस्पताललाई उद्धृत गर्दै वडाध्यक्ष लेखीले बताए ।

‘घरमै गरिएको एन्टिजेन परीक्षणका क्रममा उपमेयर चौधरी, उनका पति र छोरामा संक्रमण देखिएको थियो,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यमा केही जटिलता महसुस भएपछि स्थानीय उपचार केन्द्र हुँदै थप उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।’

यस्तै गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार पाँच जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाका अनुसार राजविराज नगरपालिका–१ र ७ का एक–एक जना, विष्णुपुर गाउँपालिकाका एक जना, बोदेवरसाइन नगरपालिकाका एक जना र बर्दिवास घर भई राजविराज बस्दै आएकी एक महिलाको मृत्यु भएको छ । सोमबारै सप्तरीको कञ्चनरूप नगरपालिकामा दुई संक्रमितको मृत्यु भएको उक्त नगरपालिकाका स्वास्थ्य सह–संयोजक डम्बर गुप्ताले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

 

 
 
  
 

You may also like