नेपालीलाई विदेश जान रोक, तर भारतीयलाई साउदी अरेबिया जान सातामा १० उडानको अनुमति

काठमाडौं । आफ्ना नागरिकलाई समेत विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई भने नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ ।

सरकारले केही दिनअगाडि नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने निर्णय गरेको थियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय दूतावासको आग्रह भन्दै सातामा १० उडानमार्फत भारतीयलाई साउदी अरेबिया जान अनुमति दिएको हो ।

साउदी जाने उडानले एकतर्फी मात्रै यात्रु लैजान पाउने स्वीकृति दिएको छ । जसले गर्दा विदेशमा अलपत्र नेपाली सो उडानमार्फत फर्कन नपाउने भएका छन् । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको थियो ।

१५ वैशाखदेखि रोक लगाउने अध्यागमन विभागको निर्णय १५ दिन नबित्दै भारतीय नागरिकका लागि भने खुला गरिएको हो । जब कि साउदी अरेबिया रोजगारीका लागि जान ठिक्क परेका १५ सय नेपाली उडान बन्द भएपछि रोकिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए । आफ्ना नागरिकलाई रोजगारीमा जान रोक्ने सरकारले भारतीयलाई भने चार्टर गर्न दिनु आश्चर्यजनक छ ।

सातामा नेपाल वायुसेवा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्न अनुमति पाएका हुन् । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट पत्र आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको हो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै झन्डै एक हजार पाँच सय भारतीय नेपालमा रोकिएको अनुमान छ ।

‘नयाँ आउने भारतीयलाई जान दिने भन्ने होइन, यहाँ रोकिएर बसेका भारतीयलाई साउदी जान दिने गरी उडान खुला गरिएको हो,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । मंगलबारदेखि नै उडान सुरु हुनेसमेत पोखरेलले जानकारी दिए । भारतीय दूतावासले पठाउने नामको सूचीअनुसार निगम र हिमालय एयरलाइन्ससँग समन्वय गर्नेले जान पाउनेसमेत पोखरेलले जानकारी दिए । नेपाल आएर १० दिन क्वारेन्टिन बसेको, पिसिआर परीक्षण गरेको र भारतीय दूतावासको लेटर लिएर आउनेले मात्रै जान पाउने छन् । अधिकांश भारतीय अहिले पनि ठमेल, नयाँ बसपार्क, सुन्धारालगायत होटेलमा बस्दै आएका छन् ।

भारतीय दूतावासले आग्रह गरेकै दिन गत वैशाख २९ गते परराष्ट्र मन्त्रालयले मागअनुसार उडान अनुमतिका लागि पर्यटन मन्त्रालयमा सिफारिस गरेको थियो । वैशाख ३० गते पर्यटन मन्त्रालयले भारतीय नागरिकलाई रोजगारीका लागि साउदी लैजान अनुमति दिएको हो ।

साउदीले भारतलाई यात्रा प्रतिबन्ध लगाए पनि नेपाललाई भने अझै आवत–जावत गर्न अनुमति दिइरहेको छ । यसैको फाइदा उठाउँदै भारतीय नागरिक नेपाल भएर रोजगारीका लागि साउदी जान थालेका थिए । अहिले पनि साउदी अरबले भारतसँग सीधा उडान बन्द गरेको छ ।

सरकारले जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आन्तरिक उडान अनिश्चितकालका लागि बन्द छ । चार्टर र उद्धार उडान हुन सक्ने भनिए पनि सरकारले आफ्ना नागरिकका लागि कुनै देशमा उडान गरेको छैन । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like