बिहे भोजमा सहभागी हुँदा कोरोना संक्रमण : एकै परिवारका चार जनाको मृत्यु

बागलुङ। बागलुङको बडिगाड गाउँपालिकामा कोरोना संक्रमणको कारण १५ दिनको अवधिमा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

बडिगाड गाउँपालिका–४ जलजलामा कोरोना संक्रमणको कारण बुवा, दुई छोरा र एक छोरीले ज्यान गुमाएका हुन् । स्वास्थ्य मापदण्डको पालना नगरी विवाह भोजमा सहभागी हुँदा उनीहरुमा संक्रमण फैलिएको स्थानीयले बताएका छन् ।

उनीहरु गएको वैशाख ११ गते विवाह भोजमा सहभागी भएका थिए । परिवारका ज्येष्ठ सदस्य ८७ वर्षीय बुवा, ५४ वर्षयिा छोरी, ५१ वर्षीय छोरा र ४० वर्षीय छोराको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

वैशाख १७ गते बुवा, वैशाख ३० गते ४० वर्षीय छोरा, वैशाशाख ३१ गते ५१ वर्षीय छोरा र जेठ १ गते ५४ वर्षीया छोरीको मृत्यु भएको हो। १५ दिनको अवधिमा एकै परिवारका चार सदस्यले कोरानाकै कारण ज्यान गुमाएपछि गाउँ नै शोकाकूल भएको स्थानीय विष्णु भुषालले बताए ।
बिहे भोजपछि क्रमशः बिरामी परेका उनीहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । भोजमा सहभागी भएको एक सातापछि उनीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने लगायतका लक्षण देखिन थालेको थियो ।

भोजमा सहभागी भएका सोही गाउँका अन्य दुई जनाले पनि ज्यान गुमाएका स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको स्वास्थ्य कार्यालय बागलुङमाले जनाएको छ । बिहे भोजबाटै कोरोना संक्रमित भएका केहीको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । संक्रमित केही अझै पनि आफ्नै घरमा छन् ।

 
 
  
 

You may also like