ट्रमा सेन्टरका १०५ विरामी जोखिममा, रातभर खोज्दा पनि भेटिएन अक्सिजन

काठमाडौं। काठमाडौस्थित ट्रमा सेन्टरमा अक्सिजन अभाव हुँदा १०५ जना विरामीको ज्यान जोखिममा परेको छ ।
ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेल र कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले रातभरि विभिन्न ठाउँमा गएर अक्सिजनको जोहो गर्ने प्रयास गरे पनि सफल नभएको बताएका छन् ।

‘हामीले रातभर विभिन्न ठाउँमा गएर एम्बुलेन्समार्फत अक्सिजन जोहो गर्ने प्रयास गर्‍याैं तर कतै पनि पाइएन हामीकहाँ रहेका १०५ जना बिरामी जोखिममा हुनुहुुन्छ’, कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले भने ।

ट्रमा सेन्टरले अक्सिजन ल्याउने शंकर अक्सिजन उद्योग बालाजुमा रातभर कुर्दा पनि अक्सिजन पाउन नसकिएको उनले बताएका छन् । भर्ना भएका १०५ जनालाई नै हाइ फ्लो अक्सिजन दिनुपर्नेमा अहिले न्यूनतम मात्रामा दिएर राखिएको र आठ बजेपछि ठप्पै हुने अवस्था रहेको उनले बताए । ट्रमा सेन्टरमा दैनिक चार सय सिलिण्डर अक्सिजन चाहिनेमा सीसीएमसीले १५० वटाको कोटा तोकिदिएको र १५० वटा सिलिण्डर पाउन पनि मुस्किल रहेको केसीले बताएका छन् ।

 
 
  
 

You may also like