भदौसम्म मृतकको संख्या ४२ हजार पुग्ने प्रक्षेपण

काठमाडौं। कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजारजनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।

अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई)’ ले महामारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो । उक्त संस्थाले विश्वका २३० स्थानमा महामारीको गणितीय प्रक्षेपण गर्दै आएको छ । प्रक्षेपण गर्दा निषेधाज्ञा, मृतक संख्या, संक्रमित संख्या, अस्पताल भर्ना दर, जनसंख्याको कति प्रतिशतले मास्क लगाएको छ जस्ता आधार तय गरिएको थियो ।

कोरोना महामारी सुरु भएयता बुधबारसम्म नेपालमा ४ हजार २५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ संक्रमितको मृत्यु भएकोे छ । मंगलबार सर्बाधिक २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै सोमबार १३९ जनाको मृत्यु भएको थियो ।

सघन उपचार कक्षमा उपचारत बिरामीको संख्या मंगलबार १ हजार ८४ रहेकोमा बुधबार यो संख्या बढेर १ हजार २४१ पुगेको छ । मन्त्रालयका अनुसार २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पिसिआर र एन्टिजेन गरी २० हजार ७८६ जनाको परीक्षण गरिएकोमा ९ हजार ३०५ अर्थात् ४४ प्रतिशतमा संक्रमण देखिएको छ ।

सक्रिय संक्रमितको संख्या बुधबार १ लाख नाघेको छ । मन्त्रालयका अनुसार नेपालमा मृत्युदर १ दशमलब ३ प्रतिशत पुगेको छ । मृत्यु हुने संख्या मंगलबारसम्म उमेरगत हिसाबले ६० वर्ष नाघेका ५८ दशमलब ३९ प्रतिशत र ३० देखि ५९ वर्ष उमेर समूहमा ३७ दशमलब ४१ प्रतिशत छ ।

अमेरिकी अनुसन्धान संस्था आइएचएमईले गणितीय मोडलका आधारमा गरेको तथा वैशाख २३ गते सार्वजनिक उक्त ‘कोभिड–१९ रिजल्ट ब्रिफिङ’ अनुसार अत्यन्त खराब अवस्थामा भदौ १६ सम्म नेपालमा ४३ हजारको मृत्यु हुन सक्ने देखिएकोे छ । वैशाख २०, २१ र २२ गतेको तथ्यांकका आधारमा यो प्रक्षेपण गरिएको हो ।

आइएचएमईको अध्ययन प्रक्षेपणले एकैदिनमा ८५० जनाको मृत्युसहित जेठ १५ मा मृतक संख्या उच्चतम बिन्दुमा पुग्ने देखिएको छ । तर वैशाख अन्तिम सातादेखि ९५ प्रतिशत मानिसले मास्क लगाएमा भदौ १६ सम्म हुने कुल मृतकको संख्यामा ३ हजारले कमी आउन सक्ने पनि प्रक्षेपणमा उल्लेख छ ।

यसैगरी खोप अभियान प्रक्षेपित गरिएको आधारमा अगाडि बढेमा थप ९०० जनाको ज्यान बच्न सक्ने प्रक्षेपण गरिएको छ । माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत नेपालमा हालसम्म २० लाख ९१ हजार जनाले खोप लगाएका छन् भने खोपको दुवै मात्रा लगाउनेको संख्या ३ लाख ६२ हजार पुगेको छ । अन्य देशको तुलनमा खोप अभियान छिटो सुरु गरेको नेपालले खोप अभावमा निरन्तरता दिन सकेको छैन ।

कहाँ चुक्यौं हामी

कोरोना महामारी नियन्त्रणका लागि भाइरस प्रसारणको चक्रलाई तोड्न सरकारले राजधानी काठमाडौं उपत्यकासहित धेरैजसो जिल्लामा दुई सातादेखि निषेधाज्ञा लागु गरेको छ । यस अवधिमा संक्रमित र मृतकको संख्या लगातार बढेको छ । पछिल्ला दिनमा देशका धेरैजसो अस्पतालमा अक्सिजनको चरम अभाव देखिएको छ । अक्सिजन नपाएर पनि बिरामीको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका निर्देशक डा. कृष्ण पौडेल जारी निषेधाज्ञाले दोस्रो साता पूरा गरेको र देशका ५८ जिल्लामा निषेधाज्ञा लगाइएका कारण जेठ दोस्रो सातादेखि महामारी घट्ने तर्क गर्छन् । ‘निषेधाज्ञाले झण्डै ७० प्रतिशत मोबिलिटी (हिँडडुल) घटेको छ । संक्रमितको संख्या बढेकाले त्यसको अनुपातमा मृत्यु पनि बढेको देखिएको हो,’ उनी भन्छन् ।

यसैगरी अक्सिजन अभाव हुन नदिन उत्पादक, अस्पताल, तीनै तहका सरकार र सर्वसाधारणको भूमिका महत्वपूर्ण हुने उनी बताउँछन् ।

नेपालमा महामारीको अवस्था अध्ययन गरिरहेका विश्व स्वास्थ्य संगठनका नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा कार्यरत डा. सुधिर खनाल महामारीको पहिलो लहरमा स्थानीय निकायले देखाएको सक्रियता दोस्रो लहरमा नदेखिएको तबताउँछन् । ‘स्वायत्त स्थानीय सरकारहरू यसपटक कता हराए ?’ उनी प्रश्न गर्छन् । स्थानीय सरकारले आफ्नो उत्तदायित्व स्वास्थ्य मन्त्रालयमा थन्क्याउन नहुने तर्क गर्दै उनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयलाई त संघीयताले रामशाहपथको कम्पाउण्डमा सीमित गरिसक्यो ।’

स्वास्थ्य मन्त्रालयले महामारी नियन्त्रणलाई प्रभावकारी पार्न स्वास्थ्य संकटकाल लागु गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिसके पनि राजनीतिक अस्थिरताका कारण टुंगो लागेको छैन । स्वास्थ्य संकटकाल लागु भएमा महामारी नियन्त्रणका लागि जनशक्ति र स्रोत र साधनको अधिकतम उपयोग हुन सक्ने तथा अन्य कुनै कानुनी अड्चन नहुने सरकारी अधिकारी तथा विज्ञको तर्क छ ।

यसैबीच नेपाल नगरपालिका संघले तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राख्न र स्थानीय तहमा सोहीबमोजिम अतिरिक्त बजेट व्यवश्था गर्न बुधबार माग गरेको छ ।

संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखेको पत्रमा कोभिड–१९ संक्रमण भयावह भएको र अस्पतालमा बेड, अक्सिजन अभावले अधिक मात्रामा मानवीय क्षति समेत भइरहेको उल्लेख छ । ‘संक्रमण रोकथाममा संविधानतः संघको एकल अधिकार रहे पनि साझा प्रयासमा मात्र यो सम्भव हुने र संविधानको मूल मर्म पनि तीनै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने हुन्छ’, पत्रमा छ । नागरिक दैनिकबाट

 
 
  
 

You may also like