२ जेठ २०७५ मा फर्किन ओलीलाई नेपाल समूहको ‘अन्तिम अल्टिमेटम’

काठमाडौं । नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन ‘अन्तिम अल्टिमेटम’ दिएका छन् । नेपाल समूहको आइतबार साँझ बसेको सांसदहरुको बैठकले भोलि (२७ बैशाख २०७८) ९ बजेसम्मको लागि ‘अन्तिम अल्टिमेटम’ दिएका हुन् ।

बैठकपछि सांसद तथा एमाले सचिव योगेश भट्टराईले आफूहरु एकताबद्ध एमालेको पक्षमा रहेको बताए । भोली बिहान ९ बजेसम्म ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धता आए एमाले एकताबद्ध हुने भट्टराईले बताए । उनले भने, ‘ भोली ९ बजेसम्म ओलीले सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिनेछौं ।’

बैठकले अध्यक्ष ओलीले आइतबार जारी गरेको विज्ञप्तिको भर्त्सना गरेको छ । ‘अध्यक्ष ओलीले जारी गर्नुभएको वक्तव्य एउटा पक्षलाई लाञ्छित गर्ने किसिमको भएकाले हामीले त्यसको भर्त्सना गरेका छौँ । उहाँ पार्टी एकताको पक्षमा गम्भीर हुनुपर्छ भन्ने हाम्रो मत छ,’ भट्टराईले भने ।

वरिष्ठ नेता नेपाल पक्ष एकताको पक्षमा उभिरहेको बेला प्रधानमन्त्री केपी ओलीले आइतबार नै चेतावनीपूर्ण वक्तव्य जारी गरी फ्लोर क्रस गर्ने, सामूहिक राजीनामा दिने जस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्। नेपाल पक्षलाई लक्षित गर्दै ओलीले अपराध कर्ममा सहभागी नहुन भनेका छन् । ओलीले भनेका छन्, ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं रु तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र अनुरोध गर्दछु ।’

 

 
 
  
 

You may also like